Shittalpati
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन

पाल्पा,  तानसेनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नारायण युवा क्लवले आफनो २४ औं साधारण सभा तथा अधिवेशन मनाएको छ । क्लवले शनिबार न्यून सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी साधारण सभा तथा अधिवेशन मनाएको हो ।

सभाको तानसेन नगरपालिका २ का वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै वडा अध्यक्ष रेग्मीले सामाजिक क्षेत्रमा क्लवले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए । उनले क्लवले गर्दै आएका हरेक गतिविधिहरुमा वडा र नगरपालिकाले पनि सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष रेग्मीले खेल क्षेत्रको विकासमा क्लवसँग वडा कार्यलयले समन्वय गर्दै आएको बताए । क्लवका अध्यक्ष किशोर दर्शन बज्राचार्यले २०५४ सालमा खेलकूद क्षेत्रको विकासका लागि स्थापना भएको क्लव अहिले आएर धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रको विकासमा समेत काम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि कार्य क्षेत्रको विस्तार गर्दै जाने धारणा व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य तथा क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले क्लवको स्थापना र हाल सम्मको अवस्थाका विषयमा जानकारी गराउदै क्लवलाई अझ सशक्त ढंगले अगाडि बढाउन क्लवका सदस्यहरुलाई आग्रह गरे । उनले समय र श्रमलाई जोड्ने गरी क्लवले काम गर्नुपर्नेमा जोड दिए । युवा नेतासमेत रहेका श्रेष्ठले भने ‘श्रमसँगै सामाजिक उत्तरदायित्व बहन गर्न क्लवका सदस्यहरु लाग्नुपर्दछ ।’ परिवारसँगसँगै सामाजिक क्षेत्रलाई पनि अगाडि बढाउन युवा वर्ग लाग्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत युवराज पौडेलले क्लवले सामाजिक क्षेत्रमा गरेको काम अत्यन्त प्रशंसनिय रहेको बताउँदै आगामी दिनमा पनि थप रचनात्मक काम गर्न आग्रह । उनले समाजमा भएका विकृति विसंगतिका विरुद्ध थप सचेतनाका कार्यक्रम गर्दै समाज रुपान्तरणमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष तथा २ का वडा सदस्य महेश्वर प्रसाद श्रेष्ठ ,क्लवका सल्लाहाकार सकुन्तला बज्राचार्य लगायतले क्लवको सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा थप सशक्त भएर लाग्न क्लवलाई आग्रह गरे । कार्यक्रममा क्लवले कोभिड सचेतना जगाउन महत्वपूर्ण भूमिका खेलेका केही व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । उसले बिनोद भारती , सुवास श्रेष्ठ, डा. एलिना शर्मा र डा. उदीप महर्जनलाई सम्मान गरेको हो । कार्यक्रममा सचिव बिनायक महर्जनले कार्यक्रमको प्रतिवेदन र कोषाध्यक्ष सुनिल बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन सत्र कार्यक्रम क्लवका अध्यक्ष किशोर दर्शन बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष प्रविन राज शाक्यको स्वागत र सचिव बिनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update