Shittalpati
पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक मुद्दामा कैद र जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिकाका दुई जना अभियुक्तलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा बुझाएको छ । बिना इजाजत बन्यजन्तु आखेटोपहार ओसारपसार सम्बन्धी कसुर ठहर भई फरार भएका तिनाउ गाउँपालिका १ का ४४ वर्षीय लालबहादुर सारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । अदालतले उनलाई २ महिना कैद सजाय तोकेको थियो ।

त्यस्तै सूचना अधिकारी त्वातीका अनुसार प्रहरीले राष्ट्रिय वन क्षेत्रको रुख काटी वन पैदावर सम्बन्धित मुद्दामा दोषी ठहर भई फरार भएका तिनाउ १ कै ३८ वर्षीय नोठबहादुर फौजालाई पक्राउ गरेको छ । वन पैदावर सम्बन्धित मुद्दामा दोषी ठहर भई फरार भएका फौजालाई अदालतले ३० हजार ९ सय ५४ रुपैयाँ जरिवाना तोकेको थियो । प्रहरीले योसँगै साउन महिनामा मात्र फरार सूचीमा रहेका ७ जनालाई पक्राउ गरी जिल्ला अदालत बुझाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update