Shittalpati
आज पाल्पामा पनि घण्टाकर्ण पर्व मनाइदै

पाल्पा,  प्रत्येक वर्ष श्रावण कृष्ण चर्तुदशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई काठमाडौं सहित पाल्पाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्व नेवार समुदायले लुतो फाल्ने पर्वको रुपमा पनि मनाउने गर्दछन् । यस दिन नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाइने गरे पनि गत वर्षदेखि भने कोरोना महामारीका कारण घरमै सिमित रुपमा मनाउदै आएका छन् । स्थानीय प्रशासनले जात्रा, महोत्सव र पर्वहरु मनाउन रोक लगाएका कारण तानसेनका नेवार समुदायले गत वर्षदेखि घरमै यो पर्व मनाउदै आएका हुन् ।

खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ । महिलाहरू रोपाइं सकिएको खुसियालीमा यसै दिन हातमा मेहेन्दी (लैंचा) लगाउने प्रचलन रहेको तानसेनका स्थानीयबासी बताउँछन् । बालबालिकाहरूले आफ्ना खेलौना पुतली गठांमोमा छुवाई घरमा लाने प्रचलन छ । यस पर्वमा दोबाटो र चौबाटोमा दिनभर नर्कटको तीन खुट्टे गठांमो ठड्याई बटुवाहरूसँग बालबालिकाले ‘घण्टाकर्ण जगात दे’ भन्दै जगात अर्थात् कर माग्ने पनि परम्परा रहीआएको छ । दुवै कानमा घण्टा झुन्ड्याइएको भयानक मुखाकृत घण्टाकर्णको मखुण्डो र तलतिर एकापट्टि लिंग र अर्कोतर्फ योनिको चित्र राखिन्छ । घाम अस्ताएपछि दिनभरि ठड्याएको गठांमोलाई साँझपख तानेर नजिकको नदीमा विसर्जन गरिन्छ । त्यसपछि आ–आफ्ना घरबाट बौः राखेर भूत पन्छाउने गरिन्छ । बौः पन्छाई फर्केर घरको मूल ढोकाको ठेला (लुखाखरु) मा ती खुट्टे फलामको किला ठोक्ने परम्परा रहेको स्थानीय लालकाजी शाक्य बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update