Shittalpati
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई

रामचन्द्र रायमाझी

पाल्पा, निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो समय पाल्पा र गुल्मीमा संक्रमण तीव्र गतिमा देखिन थालेको हो । निषेधाज्ञा खुकुलो भएसँगै यहाँका जिल्लाहरुमा स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ । मास्क नलगाउने बढेका छन् । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ । बढ्दो संक्रमणलाई मध्यनजर गरेर पाल्पा र गुल्मीका स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएका छन् । दुवै जिल्लाले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हुन् । पाल्पा प्रशासनले निषेधाज्ञा लम्ब्याए पनि खुकुलो बनाएको छ भने गुल्मीले केही कडाईका साथ निषेधाज्ञालाई थप गरेको छ ।

विहीबार जिल्ला संकट व्यवस्थापन समिति पाल्पाको बैठकले निषेधाज्ञालाई आगामी साउन ३२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । बैंठकले वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएकाले निषेधाज्ञालाई खुकुलो बनाउदै निरन्तरता दिएको छ । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएकाले निरन्तरता दिइएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए । यस अघि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने व्यवसायहरु विहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यस्तै बैठकले अन्य सार्वजनिक सवारी साधनहरु समेत सञ्चालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्र्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ । यस्तै होटल तथा रेष्टुरेण्डहरु विहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । सभा, सम्मेलन, गोष्ठी , विवाह,ब्रतबन्ध,तथा अन्य धार्मिक, सामाजिक कार्यमा भोजभतेर खुवाउने गरी होटल, रेष्टुरेण्ड तथा पार्टी प्यालेसहरु सञ्चालनमा भने रोक लगाएको छ । यहाँ गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ ।

यस्तै उता गुल्मीमा जारी निषेधाज्ञालाई कडाई गर्दै साउन ३२ गतेसम्म थप गरिएको हो । निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यो अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रावती शर्माले जानकारी दिइन् । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म बजेसम्म सञ्चालन गर्न पाइनेछ । संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने उनले बताइन् । बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहने छन् । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै पाउने भएका छन् । निषेधाज्ञामा एम्बुलेन्सबाहेक मोटरसाइकलसहित र सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल भने २४ सौं घण्टा खुला रहने छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update