Shittalpati
पाल्पामा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन ३२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । विहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।
यस अघि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने व्यवसायहरु विहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यस्तै बैठकले अन्य सार्वजनिक सवारी साधनहरु समेत सञ्चालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्र्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ । यस्तै होटल तथा रेष्टुरेण्डहरु विहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । सभा, सम्मेलन, गोष्ठी , विवाह,ब्रतबन्ध,तथा अन्य धार्मिक, सामाजिक कार्यमा भोजभतेर खुवाउने गरी होटल, रेष्टुरेण्ड तथा पार्टी प्यालेसहरु सञ्चालनमा भने रोक लगाएको छ ।

आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ । यहाँ गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ । जारी निषेधाज्ञा आज मध्यरातिदेखि सकिदै छ । योसँगै निषेधाज्ञा ११ औं पटक थप गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update