Shittalpati
पाल्पामा फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी

रामचन्द्र रायमाझी
पाल्पा, विभिन्न आपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

पाल्पा प्रहरीले फरार सूचीमा रहेका अभियुक्तको खोजीलाई तीव्र बनाएसँगै फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका हुन् । चोरी, बहुविवाह, जवरर्जस्तीकरणी, सार्वजनिक अपराध लगायतका अभियोगमा अदालतबाट दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका ५ जना अभियुक्तहरुलाई प्रहरीले चार दिनको अन्तरालमा पक्राउ गरी अदालतको जिम्मा लगाएको छ । अभियान नै सञ्चालन गरी फरार अभियुक्तहरु पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए । उनले फरार अभियुक्त खोजी गर्न जिल्लाका विभिन्न स्थानमा विशेष प्रहरी टोली खटाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा अदालतले कैद तथा जरिवाना सुनाएका सयौं अभियुक्तहरु फरार सूचीमा रहेका छन् । तत्कालका लागि फरार सूचीमा रहेका १५ जनाको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक त्वातीले बताए । ‘जिल्ला प्रहरीकै अनुगमनमा खोजी कार्यलाई तीव्रता दिएका छौं,’ उपरीक्षक त्वातीले भने, ‘यो हाम्रो नियमित काम हो, अहिले अभियान नै सञ्चालन गरी पक्राउ गर्न थालिएको छ ।’ ‘फरार अभियुक्त पक्राउलाई तीव्र बनाइएपछि अपराधीमा डर पैदा भएको छ,’ त्वातीले भने, ‘जति वर्ष अगाडिदेखि अभियुक्तहरु भागे पनि पक्राउ परिहाल्छन्, उनीहरुलाई जहाँ गए पनि उन्मुक्ति मिल्दैन ।’ प्रहरीले गत आइतबार तीन जना प्रतिवादीहरुलाई पक्राउ गरेको थियो भने, बुधबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ती अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाका दुई जना अभियुक्तलाई पक्राउ गरी बुधबार जिल्ला अदालतमा बुझाएको छ । (गोरु मारेको) पशुपक्षी सम्बन्धी कसुर ठहर भई फरार भएका रामपुर नगरपालिका–१०, का १९ वर्षीय नारन सुनार र सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका बगनासकाली गाउँपालिका–२, का २८ वर्षीय नारायण बगालेलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई अदालतले ३ महिना ७ दिन र बगालेलाई १ महिना ६ दिन कैद सजाय तोकेको थियो । प्रहरीले गत आइतबार पनि फरार सूचीमा रहेका तीन जनालाई पक्राउ गरी जिल्ला अदालत बुझाएको छ ।

प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका रामपुर, रम्भा र निस्दीका तीन जना अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको थियो । बैकि· कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपाने, बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका रम्भा गाउँपालिका–१, का ४९ वर्षीय कृष्णप्रसाद पाठक र जवरर्जस्तीकरणी मुद्दामा दोषी ठहर भएका निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामीलाई पक्राउ गरेको हो । अदालतले पक्राउ परेका न्यौपानेलाई ७ लाख ३० हजार नगद, बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका पाठकलाई १ वर्ष तीन महिना कैद र जबर्जस्तीकरणी मुद्दामा दोषी ठहर भएका पुलामीलाई ६ वर्ष कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अरू बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्तहरु कोरोना महामारीका बेला आफ्नै घरमा बस्दै आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update