Shittalpati
पाल्पामा फरार दुई जना अभियुक्त पक्राउ

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाका दुई जना अभियुक्तलाई पक्राउ गरी बुधबार जिल्ला अदालतमा बुझाएको छ । (गोरु मारेको) पशुपक्षी सम्बन्धी कसुर ठहर भई फरार भएका रामपुर नगरपालिका–१०, का १९ वर्षीय नारन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । अदालतले उनलाई ३ महिना ७ दिन कैद सजाय तोकेको थियो ।

त्यस्तै सूचना अधिकारी त्वातीका अनुसार प्रहरीले सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका बगनासकाली गाउँपालिका–२, का २८ वर्षीय नारायण बगालेलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका बगालेलाई अदालतले १ महिना ६ दिन कैद सजाय तोकेको थियो । प्रहरीले गत आइतबार पनि फरार सूचीमा रहेका तीन जनालाई पक्राउ गरी जिल्ला अदालत बुझाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update