Shittalpati
रम्भाले बाड्यो वैकल्पिक सिकाइका लागि निःशुल्क सिम

पाल्पा, जिल्लाको रम्भा गाउँपालिकाले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठन–पाठन हुने स्थिति नरहेका बेला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको हो ।

सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले नेपाल टेलिकम पाल्पाको सहयोगमा फोन गर्दा पैसा नलाग्ने सिमकार्ड गाउँपालिकाले उपलब्ध गराएका छ । फोन गर्दा पैसा नलाग्ने सिम पाएपछि यहाँका विद्यार्थीहरु उत्साहित भएका छन् ।

विद्यार्थीलाई सम्बन्धित शिक्षकहरुसँग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी हुने गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । गाउँपालिकाले १ हजार ७ सय ६५ विद्यार्थीलाई सिम वितरण गर्ने अध्यक्ष भण्डारीले बताए । वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै पालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो ।

सबै विद्यार्थीको हात–हातमा पैसा नलाग्ने सिमकार्ड भएपछि शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ । इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आइरहँदा यसको समाधानका लागि निःशुल्क सिमकार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका रविकिरण मावि, रम्भा मावि, कृष्ण गण्डकी माविले अनलाईनमार्फत अहिले कक्षा सञ्चालन गरिसकेका छन् भने अन्यले सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले यहाँका ७ वटा मावि र १ वटा आधारभूत विद्यालयका लागि निःशुल्क सिमकार्ड वितरण गरेको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update