Shittalpati
मनाइयो गुरु पूर्णिमा

पाल्पा,गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।

पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यसपटक नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण फरक तरिकाले मनाइएको छ । घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्नेलगायत तरिका अपनाइएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहँदै आएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई शास्त्रले गुरु मानेको छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात गुरू देवता समान हुन् भन्ने मान्यता शास्त्रले बोकेको छ । गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरस संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएकाले मानसिकरूपमा श्रद्धाभाव प्रकट गरिएको हो ।

 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update