Shittalpati
पाल्पामा गल्याङ्को लाइन जोडियो

पाल्पा, पाल्पामा गल्याङ्को लाइन जोडिएको छ । लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लावासीहरुका लागि बैकल्पिक लाइनको रुपमा गल्याङ्को लाइन जोडिएको हो ।

पाल्पा– बुटवलको प्रशारण लाइन विद्युत समस्या समाधान गर्नको लागि गल्याङ्बाट लाइन जोडिएको छ । दोभान क्षेत्रको जंगलबाट विद्युत प्रसारण लाइन पाल्पामा ल्याउँदा बर्खाको समयमा दिनहुँ समस्या उत्पन्न हुँदा यहाँका नागरिकहरुले सास्ती खेप्नु परेको थियो ।

गल्याङ्को वैकल्पिक लाइन जोडिएपछि समस्या समधान हुनेमा आफुहरु विश्वास्त रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए । उनले गल्याङ्को लाइन ल्याउन पटक–पटक सम्बन्धित निकायसँग आग्रह गर्दा समेत वेवास्त गर्दा जिल्लाका नागरिकहरुले लामो समयसम्म सास्ती खेप्नु परेको बताए । अध्यक्ष महर्जनले भने ‘अहिले विद्युत प्राधिकरणको समन्वयमा गल्याङ्बाट लाइन ल्याउने काम सम्पन्न भएको छ ।’

पटक–पटक लाइन जाने र जहिले पनि बुटवलबाट गएको भन्नुपर्ने अवस्था अब नआउने विद्युत कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सुशील पौडेलले बताए । लामो जंगल क्षेत्रबाट तार ल्याउनुपर्ने हुँदा पाल्पामा विद्युत समस्या हुँदै गएको थियो । अब गल्याङ्बाट लाइन जोडिएपछि त्यो समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे ।

विगतमा पाल्पामा लामो समयसम्म लाइन जाँदा गल्याङ्बाट लाइन ल्याउने गरिएको थियो तर पछिल्लो केही वर्ष यता यो सञ्चालनमा रहेको थिएन ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update