Shittalpati
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार

हाम्रासंवाददाता

गुल्मी,गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।

भारतीय राजदुताबासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न नगरी निर्माण व्यवसायी सम्पर्कविहिन रहेको विद्यालयले जनाएको छ । विद्यालयको भवन निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा कुल १ करोड ६६ लाखमा टेण्डर आह्वान भएको थियो । वि.सं. २०७३ मा काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘प्रवेश ब्रदर वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन’ ले ९९ लाखमा निर्माणको जिम्मा पाएको विद्यालयका प्राधानाध्यापक बिष्णु घिमिरेले बताए ।

कम्पनीले वि.सं. २०७५ असोजमा सक्ने गरी भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण व्यवसायी दिनेश लामाले विद्यालयको भवन निर्माण गर्न सुरु गरी विभिन्न बहानामा २/२ पटकसम्म म्याद थप गर्दै भवन निर्माणको काममा ढिलासुस्ती गर्दै आएका थिए । पछिल्लो पटक थपिएको म्याद वि.सं. २०७७ माघमा सकिएको छ । तर, निर्माण व्यवसायी लामा विद्यालयको सम्पर्कमा छैनन् । अघिल्लो वर्षको माघमा विद्यालय निर्माणका लागि थप गरिएको म्याद समेत सकिएको यति धेरै समय विते पनि निर्माण व्यवसायी लामा कसैसँग सम्पर्कमा नरहेको विद्यालयका प्राधानाध्यापक घिमिरेले जानकारी दिए ।

‘विद्यालयको भवन अलपत्र पारेर निर्माणको जिम्मा पाएका ठेकेदार दिनेश लामा हामीसँग सम्पर्कविहिन छन् ।’ विद्यालयका प्राधानाध्यापक घिमिरेले भने, ‘ठेकेदारले भवनको २५ प्रतिशत काम बाँकी छाडेर करिब ७५ लाख रकम भुक्तानी लिएर फरार भएका हुन्,भवन अलपत्र पार्दा निर्माण व्यवसायी लामालाई हामीले पनि बारम्बार सम्पर्क गर्न खोज्दा उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।’ विद्यालयको भवन निर्माण सम्पन्न गर्न स्विकृत लिएको मितिले १५ महिनाभित्र अर्थात् वि.सं. २०७५ असोजमा सक्ने गरी सम्झौता भएपनि निर्माण सम्पन्न नगरी विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् । विद्यालयको भवन समयमा निर्माण सम्पन्न नगर्नाले विद्यार्थीहरुको पठन–पाठनमा ठूलो असर परेको अभिभावक तथा शिक्षकहरुले गुनासो गरेका छन् । निर्माणधिन विद्यालयको २० कोठे भवनका लागि २ तला ढलाई गरिएको छ । कुल कामको २५ प्रतिशत काम बाँकी रहेको छ । उनले रकम भुक्तानी लैजान पनि कुल रकमको २५ प्रतिशत बाँकी रहेको छ । ठेकेदार तत्काल सम्पर्कमा आएर भवनको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने माग विद्यालयले रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update