Shittalpati
भ्रूणहत्या आरोपमा युवती पक्राउ

बलेवा, अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भू्रण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गरे, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भू्रण राखेर गाडेको अवस्थामा थियो’, हवारीले भने, ‘स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।’ ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भू्रणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन । –रासस

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update