Shittalpati
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग

पाल्पा,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।

युनियनले आइतबार एक ज्ञापन पत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत त्रिभुवन विश्व विद्यालयले क्याम्पसका परीक्षाहरु साउन ५ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न गइरहेकाले प्राध्यापक ,शिक्षकहरुलाई प्राथमिकतामा राखेर खोपको प्रवन्ध मिलाउन माग गरेको छ । उसले ज्ञापनपत्रमा भनेको छ ‘जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले विश्व विद्यालय, विद्यालयका प्राध्यापक,शिक्षक तथा कर्मचारीहरुको प्राथमिकता निर्धारण गर्दा नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रकाशित परिपत्रमा प्राथमिकता नम्वर २ मा रहेको र जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले प्राथमिकता नम्वर ३ मा पुर्‍याएको कार्यप्रति युनियनको गम्भिर ध्यानाकर्षण गराउदछौं, साथै उक्त प्राथमिकतालाई तुरुन्त सच्याई केन्द्रिय परिपत्र अनुसार कार्यान्वन गर्न अनुरोध गर्दछौं ।’

युनियनले शिक्षक लगायत अन्य श्रमिक वर्गहरुलाई पनि तत्काल खोपको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । उसले वर्तमान विषम परिस्थीतिमा श्रमिक वर्ग बढी मारमा परेको भन्दै उनीहरुको रोजगारी हकहित , स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न समेत सरकारसँग माग गरेको छ । युनियनका सभापति लक्ष्मण बहादुर रायमाझीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, होटलमा काम गर्ने श्रमिकहरु, यातायात मजदुरहरुको बन्दाबन्दी समयको तलव,भत्ता/पारिश्रमिक भुक्तानीको व्यवस्थाको लागि पहल गरिदिन भनिएको छ ।

पत्र हस्तान्तरण गर्नु अघि युनियनका सचिव टुनविर रेस्मीले ज्ञापन पत्र वाचन गरेका थिए । उक्त ज्ञापन पत्र युनियनका सभापति लक्षमण रायमाझीले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । पत्र बुझ्दै प्रजिअ पाण्डेले युनियनको मागलाई सम्बोधन गर्दै शिक्षकहरुको खोप प्राथमिकतालाई सच्याउने प्रतिवद्धता जनाएका छन् । उनले अन्य मागहरु सरकारसँग केन्द्रित रहेकाले उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पठाईदिने बताए । ज्ञापन पत्र बुझाउन युनियनका पदाधिकारीहरु शिक्षक, प्राध्यापकहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

पाल्पामा साउन ५ गतेदेखि फेरी कोरोना बिरुद्धको खोप अभियान सुरु हुँदैछ । २०७८ साउन ५ गतेदेखि ७ गतेसम्म तीन दिन जिल्लाका खोप केन्द्रहरुमा कोरोना बिरुद्धको खोप लगाउने तालिका सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले माग गरेअनुसार खोप नआएका कारण यसअघि छुटेका ६२ वर्षभन्दा माथि उमेर समूहका र सरकारले तोकेको ५५ वर्षदेखि ६१ वर्ष उमेरका मानिसलाई खोप लगाउने जनाएको छ । सरकारले तोकेको प्राथमिकताका आधारमा खोप लगाए पाल्पाका लागि ३२ हजार बढी कोरोना बिरुद्धको खोप आवश्यक पर्छ । तर खोप कम आएकाले यसअघि प्राथमिकतामा परेका तर छुटेका (६२ वर्ष माथिका) र ५५ वर्षदेखि ६१ वर्षका नागरिकलाई खोप लगाउन निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । खोपको तालिका सार्वजनिक भएपटि शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्तिहरूले सामाजिक सञ्जालमा विरोध जनाउदै आएका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update