Shittalpati
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला

पुरन राजकोटी मगर

गुल्मी(पुर्तिघाट),जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
कालीगण्डकी गाउँपालिकामा २०७५ सालमा आधिकारिक रुपमा संघ स्थापना भई मगर सुमदायको हकहित र संस्कृति संरक्षणमा हरेक वर्ष विविध कार्यक्रमहरु हुँदै आएका छन् । सोही क्रममा संघले मगर समुदायका अगुवाहरु बिच भेला गराएको छ ।

भेलामा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा मगरले मगर समुदायको हकहित र अधिकारका लागि सबै एक जुट हुनुपर्ने बताए । उनले नेपाली समाजमा मगर समुदायको छुट्टै पहिचा र महत्व रहेको भन्दै त्यसलाई जोगाइ राख्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले समाजका हरेक कार्यक्रममा सहभागी हुने र राजनितीक प्रति पनि चासो राख्न मगर समुदायका व्यक्तिहरुलाई आग्रह गरे । संघका अध्यक्ष चित्रबहादुर थापा मगरले मगर समुदायलाई अधिकार प्राप्तिका लागि थप सशक्त बनाएर लैजाने बताएका छन् । उनले संस्थाको सम्पर्क कार्यालयको स्थापना गर्ने बताउँदै नेपाल मगर संघ विशुद्ध मगर जातिको मात्र भएकाले कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखी संस्थालाई अगाडि बढाउन आफू सधैं अग्रसर रहने धारणा व्यक्त गरे । संघका जिल्ला सचिव लालबहादुर राना मगरले जातिय पहिचान बनाउन सफल भएको मगर समुदायले आफ्नो पहिचान जोगाउन लाग्नुपर्ने बताए ।

भेलामा ऋषिराम राना मगर,शिव थापा मगर दिपक बुढा मगर,किरन थापा मगर र पुरन राजकोटी मगर लगायतले आ–आफ्ना धारणा राखेका थिए । संघका अध्यक्ष चित्रबहादुर थापा मगरको अध्यक्षता, सचिव भविन्द्र राना मगरको सञ्चालनमा भेला भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update