
पाल्पा,पाल्पामा दश दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को विहीवार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
थपिएको निषेधाज्ञामा यस अघि बन्द रहेका सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ । सञ्चालन अनुमती पाएका यि सवारीहरु विहान ७ बजेदेखि साँझा ७ बजेसम्म माात्र सञ्चालन गर्न पाइने छ ।
यस्तै यस अघि पसल, व्यवसायहरु विहान ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएकोमा त्यो समय बढाएर ५ बजेसम्म पुर्याएको छ । सभा, सम्मेलन, गोष्ठी , विवाह,ब्रतबन्ध,तथा अन्य धार्मिक, सामाजिक कार्यमा भोजभतेर खुवाउने गरी होटल, रेष्टुरेण्ड तथा पार्टी प्यालेसहरु सञ्चालनमा भने रोक लगाएको छ । आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ ।
यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ । आज राती १२ बजेदेखि सकिन लागेको निषेधाज्ञालाई सातौं पटक लम्ब्याएको हो । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले निषेधाज्ञा पुनः दश दिन लम्ब्याइएको बैंठकले जनाएको छ । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको छ । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ ।