
पाल्पा, शैक्षिक सुधारमा योगदान पुर्याउने उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले दुई वटा विद्यालय र ४६ जना शिक्षकहरुलाई सम्मान गरेको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पु¥याएका पाल्पाको उद्बुद्ध मावि पूर्वखोला र गुल्मीको सिद्धबाबा मावि तम्घास सम्मानित भएका छन् । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्कृष्ट शिक्षक र विद्यालयहरुलाई सम्मान गरेको हो । ‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इजत’भन्ने नाराका साथ डिभिजन कार्यालयले शिक्षक र विद्यालयहरुलाई सम्मान गर्दै आएको छ । कार्यालयले यस वर्ष ४६ जना शिक्षक र दुई विद्यालयलाई सम्मान गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापति मिरा मरासीनीले पाल्पाली ढाकाले शिक्षक र विद्यालयलाई सम्मान गरेकी हुन । सम्मान गर्दै सभापति मरासीनीले शिक्षक देश निर्माणका संवाहक भएकाले शिक्षकलाई सम्मानित पेशाका रुपमा लिनुपर्ने बताईन् । विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले शिक्षकहरु समेत कोभिडबाट प्रभावित भएकाले उनीहरुका लागि खोपको व्यवस्था मिलाइने बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेल, शिक्षक महासंघ लुम्बिनी प्रदेशका सदस्य सुरेश गौतम, सिद्धबाबा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापा, उत्कृष्ट शिक्षक मोहनप्रसाद सापकोटा लगायतले आ–आफ्ना धारणा राखेका थिए । सम्मानित शिक्षकहरुलाई प्रति शिक्षक दश हजार र प्रति विद्यालयलाई दुई लाख २५ हजारका दरले सम्मान गरिएको सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीले बताए । ज्ञवालीको अध्यक्षता, कार्यलयका कर्मचारी रविन पन्थीको स्वागत, रविन्द्र अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।