Shittalpati
खतिवडाले समाले सञ्चार मन्त्रालय, सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह

रासस
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री डा खतिवडालाई कार्यभार तोकिएको हो । आइतबार खतिवडाले पदभार ग्रहण गरेसँगै मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग समेत आग्रह गरेका छन् । मन्त्री खतिवडाले सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औँल्याए । मन्त्री डा. खतिवडाले भने, ‘सञ्चार सम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै छन्, त्यसलाई छलफल गरेर मात्र ल्याइनेछ, संघीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ ।’ उनले आम नागरिकप्रति मर्यादित र उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन/प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गरे । ‘सुसूचित हुन पाउने जनताको अधिकारलाई सुनिश्चित राख्नुपर्छ र त्यसलाई प्रवद्र्धन गर्नुपर्ने सञ्चारमाध्यमको भूमिका हुन्छ । समृद्धिका लागि नागरिक उत्पादक हुनुपर्छ । उत्पादक र सबलीकृत नागरिक बनाउन प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ, सूचना प्रविधिका माध्यमबाट राज्यका अङ्गलाई पारदर्शी बनाउनुपर्ने हुन्छ’, उनले भने । मुलुकमा व्याप्त गरिबीको अन्त्य गर्दै समृद्धि र समतामूलक समाज निर्माण गर्नु सरकारको मुख्य विषय भएको उनको भनाइ छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update