Shittalpati
लुम्बिनीमा आन्तरिक पर्यटक बढ्दै

सिद्धार्थनगर, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्याड्ढ अनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको संख्या नै अत्याधिक रहेको छ । कोषको तथ्याङ्क अनुसार बन्दाबन्दी खुलेपछि एक लाख ४१ हजार ५ सय ७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । यसैगरी, पाँच हजार ७ सय ४८ भारतीय र १ सय २० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरुको संख्या बढिरहेको बताए ।

कोरोनाका कारण मान्छेहरुमा सिर्जना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए । सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको संख्या अत्यधिक रहने गरेकामा कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावत समेत नरहेको हुँदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरोत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए । उनले भने, ‘लुम्बिनीमा आन्तरिक पर्यटक बढ्दै लुम्बिनीको पर्यटन पुनरोत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौँ । यसले लुम्बिनी घुम्न जान मान्छेहरुलाई उत्प्रेरित गर्नेछ ।’ गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङ समेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरुको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकन समेत गरेको थियो । –रासस

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update