Shittalpati
गुल्मीमा पत्रकारको सदस्यता सिफारिसमा विवाद, प्रेस युनियन असन्तुष्ट

गुल्मी, गुल्मीमा पत्रकारको सदस्यता सिफारिसमा विवाद सिर्जना भएको छ । नेपाल पत्रकार महासंघको चुनाव यही चैत २५ गते हुन गईरहेका बेला गुल्मीमा सदस्यता वितरणमा अध्यक्षको मनपरीले विवाद भएको पाइएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भूषालले मनपरी रूपमा पत्रकारको सदस्यता वितरण गरेपछि विवाद सिर्जना भएको नेपाल प्रेस युनियनका जिल्ला सचिव रमेश विश्वकर्माले जानकारी दिए । शुक्रबार युनियनको आकस्मिक बैंठक बसी महासंघका अध्यक्ष भूषासले कार्यसमितिका अन्य पदाधिकारीलाई जानकारी नगराईकन मनपरी रूपमा सदस्यता सिफारिस गरेको कार्यसमिति सदस्य रेशम कुँवरले बताए । ‘हामीलाई जानकारी नगराईकन अध्यक्षले मनपरी गरी सदस्यता दिएका छन् ।’ कार्यसमिति सदस्य कुँवरले भने, ‘कसलाई सदस्यता दिइयो र दिने भन्ने बारे अध्यक्षले हामीलाई केही जानकारी गराएनन् ।’

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ , पुर्व अध्यक्ष जनार्दन घिमिरे, पुर्व सचिव तारा भुषाल सहित जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थितिमा बसेको बैठकले मनपरी रुपमा गरिएको सदस्यता सिफारिस विरुद्ध डटेर लड्ने र सकेसम्म सहमतिबाट अगाडि बढ्ने निर्णय भएको जनाइएको छ । बैंठकले महासंघका पदाधिकारीसँग छलफल गर्न महासंघका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

पत्रकार महासंघको सदस्यताका लागि जिल्लामा गएको साउन २३ गते ३१ जनाले निवेदन दिएका थिए । जस मध्ये ८ जनालाई मात्र सदस्ता दिइएको छ । सदस्यता पाउनेमा अधिकांस अध्यक्ष निकटका रहेका छन् । अध्यक्ष भूषालले भने सबै फाइल प्रदेशमा पठाएको भनेर उम्कने गरेका छन् । प्रदेशमा रहेका पदाधिकारीहरुले भने फाइल नआएको प्रतिक्रिया दिएका छन् । यस विषयमा भूषालसँग थप बुझ्न खोज्दा पत्रकारहरुलाई नै अपशब्द बोलेर गाली गर्दै आइरहेको युनियनले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update