गुल्मी, नेपाली काँग्रेस गुल्मीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–६,चारपालामा श्रद्धाञ्जली सभा गरेको हो । नेपाली काँग्रेस गुल्मीका पूर्व उपसभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, वी.पी. विचार समाजका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष लक्ष्मणसिंह थापाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरिएको काँग्रेसले जनाएको छ । थापाको गत फागुन २६ गते ७२ वर्षको उमेरमा मृत्यु भएको थियो । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका केन्द्रीय नेताहरुको सहभागीता रहेको थियो । सभा काँग्रेसका केन्द्रीय सदस्यहरु डा.चन्द्र भण्डारी, धनराज गुरुङ र गुरु घिमिरेको विशेष आतिथ्यता रहेको थियो । सभामा बोल्ने वक्ताहरुले थापाको निधले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् ।
दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्ण थापा परिवार र स्वर्गीय थापाले पु¥याएको भूमिका अतुलनीय भएको स्मरण गरेका थिए । सरल र सादा जीवनशैली अपनाएका थापा देश, जनता र प्रजातन्त्रका लागि एक ईमान्दार र निष्ठावान सिपाही भएको समेत उल्लेख गरे । राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना र पञ्चायती व्यवस्थाको समाप्तीपछि बहुदलीय व्यवस्थाको पुर्नस्थापनामा शाहदत प्राप्त गर्ने महान शहिद परिवारको सदस्य हुनुको श्रेय उक्त परिवारलाई जाने वक्ताहरुको भनाई छ ।कठोर संघर्षमय जीवन अंगालेका थापाको योगदानको नेपाली कांग्रेस गुल्मी सदा संस्मरण गरिरहने जनाईएको छ ।


