Shittalpati
नेपालमा महिलाको वर्तमान अवस्था

                                                            विमला के.सी.

महिला मानव सृष्टीका जननी हुन् । महिला आमा हुन्, दिदी बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती साथी संगिनीको प्रगाढ मायाको पछौरी भित्र पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । यसैले पुरुष र महिला बीच अन्योन्याश्रित सम्बन्ध छ । साच्चै भन्नु पर्दा महिला र पुरुषमा खासै भिन्नता छैन । महिला र पुरुषको भिन्नता भनेको जैविक भिन्नता मात्र हो । शिशुलाई जन्मदिने शारीरिक बनावटमा मात्र यी दुई बीच भनेको भिन्नता हो, भिन्नता भन्दैमा असमानता होइन । यी भिन्नता त समाजबाट सिर्जिएका भिन्नता हुन् र पितृसतात्मक समाजले निर्धारण गरेको धर्म, संस्कार, व्यवस्था अनि मनोविज्ञानले सिर्जना गरेको खाडल मात्र हो । अझैपनि विश्वमा लङ्गिक समानता नारामै सिमित छ । विकसित भनाउँदा देशमा पनि नारा असमानता र उत्पीडनको घटनाहरु लुकाई छिपाई राखेका छन् । यसर्थ महिलाको वर्तमान अवस्थाका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
जनसंख्याको हिसाबले नेपालमा पुरुष भन्दा महिला बढी छन् । नेपाली समाजमा अशिक्षाका कारण धेरै महिलाहरु आफ्ना आधारभूत अधिकारबाट बञ्चित रहेर जीवन यापन गर्नु परेको छ । अझै पनि हाम्रो देशमा देवी, कुमारी, पञ्चकन्या लक्ष्मीको रुपमा पुजिने र अर्चना गरिने नारीलाई बोक्सीको आरोपमा अपमानित हुनु परेको छ, कुटिनु पिटिनु परेको छ । एकल महिलालाई छुट्टै दर्जामा हेयको दृष्टिले हेरिन्छ । परम्परा र रितिरिवाज महिलाप्रेमी छैनन् । शिक्षा कम, साक्षरता प्रतिशत कम र न्यून रोजगारीको अवस्था विद्यमान छ । पितृसतात्मक सोचको बर्चश्व छ । भौतिक स्वतन्त्रता पुरुषको तुलनामा कम छ । महिलालाई सजावट वस्तुको रुपमा लिइएको छ । विभेदका स्वरुप विभिन्न छन् । महिलाहरु राम्री हुनुपर्ने मान्यता छ । महिलालाई भान्सा–किचन र भाडा वर्तनकी महारानीको रुपमा हेरिएको छ । कुशलता बुहार्तनमा नापिन्छ । जवाफदेहीता धेरै ठाउँमा बाडिएको छ । निर्णय प्रक्रियामा सहभागी गराइदैन, रुद्रघण्टी नभएको, पोथी बासेको जस्ता लाञ्छना लगाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्छ । महिलाको कामको लेखा जोखा गरिदैन । पारिश्रमिकमा पनि विभेद गरिएको छ । छिटफूट रुपमा सञ्चालन भएका महिला लक्षित कार्यक्रमहरुबाट पनि पुरुष नै लाभान्वित भएका छन् । कार्यक्रममा टाठा बाठाको बर्चश्व छ । ठूलो संख्यामा महिलाको विवाहको उमेर २० वर्ष मुनी देखिएको छ ।
महिला विकासमा समस्याः–
– महिला माथि हुने व्यवहारगत विभेद हटाउन नसक्नु ।
– अशिक्षा
– हानिकार अभ्यास
– लै·िक विभेद तथा हिंसालाई बढवा दिने सामाजिक संरचना, सोंच, मूल्यमान्यता प्रथा परम्परा कायमै
– महिला तथा बालिकाहरु माथि घरेलु, यौनजन्य तथा लै·िकतामा आधारित हिंसा विद्यामान ।
– लङ्गिक समानता प्रष्टाउने पर्याप्त खण्डीकृत तथ्याड्ढको कमी ।
–जोखिम÷सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पिडित महिलालाई पूर्णरुपमा संरक्षण, पुनस्थापना सशक्तीकरण र स्वावलम्बी बनाउन नसकिनु ।
–सरकारी तथा विकास साँझेदार संस्थाहरुबाट हुने कार्यक्रममा समन्वयको कमी  ।
–महिला विकासका कार्यक्रमको लागि सार्थक लगानी गर्न नसक्नु ।
महिलापछि पर्नुका खास कारणहरु
–शैक्षिक न्यूनस्तरः– क्षमता भएन, अवसर गुम्यो ।
–सामाजिक सांस्कृत अवरोध :– स्वतन्त्र बन्न दिएन, पहुँचमा पुग्न गाह्रो भयो ।
–दोहोरो तेहोरो जिम्मेवारी :– आफ्नो प्रगतीमा समय दिन सकिन ।
–सार्थक लगानी र प्राथमिकता :– जिम्मेवार हुन सकिएन, निर्णय अरुले गरिदिए ।
–आसलाग्दो स्थिति र व्यवस्थाहरु
अहिले महिलाका आवाज उठ्न थालेका छन् केही सावालहरु सम्बोधन पनि भएका छन् । नेपालले युग क्रान्तिकारी, गौरवशाली र संसारलाई उदाहरणीय हुने (राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश बनाएर) उदाहरणीय दृष्टान्त देखाई सकेको छ । महिलाहरुलाई सम्पत्ति माथिको अधिकार स्थापित गरिदै छ, अहिलेको अवस्थामा पनि ३० प्रतिशत महिलाको नाममा स्वामित्व कायम भइसकेको छ । ग्रामिण भेगमा पनि महिलाको सचेतना बढ्दै गएको र सामुदायिक वन, आमा समूह, महिला शिक्षिका, सहकारी, राष्ट्रसेवक, जनप्रतिनिधि र राजनीतिक दलमा समेत प्रतिनिधित्व भई सहभागिताको अंश बढेको छ । वकालत गर्ने एनजिओ, आइएनजिओ धेरै हुनको साथै प्रशासन लैंगिक संवेदनशिल हुदैं गएको छ । आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरिदै छ । सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक र लैंगिक विभेद बिना समान वंशीय हकलाई संविधानले नै स्थापित गरेको छ । राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिता रहने नीतिगत व्यवस्था गरिएको छ भने शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसरको थालनी भएको छ । सम्पति तथा पारिवारिक मामिलामा समान हकको हिस्सेदार बनाइएको छ । राज्य सञ्चालनमा महिलाको सहभागिता बढाउन संघीय सांसद र प्रदेश सभामा निर्वाचित हुने सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने, सभामुख, उपसभामुख मध्ये एक महिला हुने, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला हुने तथा प्रदेश सभामा पनि सभामुख र उपसभामुख मध्ये एक महिला प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । त्यस्तैगरी गाउँपालिकामा ४ जना, नगरपालिकामा ५ जना, जिल्ला समन्वयमा कम्तीमा ३ जना, गाउँपालिका र नगरपालिकाको प्रत्येक वडाबाट कम्तीमा २ जना महिलाको प्रतिनिधित्व हुने गरी गाउँ सभा र नगर सभा गठन हुने व्यवस्था गरिएको छ । राष्ट्रिय महिला आयोग संवैधानिक आयोगको रुपमा रहने, अध्यक्ष र सदस्य महिला मात्र रहने संवैधानिक व्यवस्था गरिएको छ । यौनजन्य दुव्र्यवहार बोक्सी सम्बन्धी कसुरमा छुट्टै कानुनी व्यवस्था गरी महिलामैत्री कानुनको निर्माण जारी रहेको विद्यमान अवस्था छ ।
अबको बाटो : सुधार आफैबाट सुरु गरिनुपर्छ । महिला हिंसा रोक्न तथा महिलाको विकास गर्न सुधारको अभियान घर, समाज, गाउँ, जिल्ला, प्रदेश र केन्द्र सबै तहबाटै सुरु गरिनु पर्छ । त्यसपछि राज्य तहबाट कर्तव्य, जिम्मेवारी तथा साधन स्रोतको व्यवस्था गरी मूल प्रवाहीकरण गरिनुपर्छ । शिक्षा र चेतना सशक्त पार्नका लागि आमरुपमा महिला सशक्तीकरणको कार्यक्रमहरुको सञ्चालन गरिनु पर्छ । लङ्गिक विभेद अन्त्यका लागि भेदभाव पूर्ण व्यवहारको अन्त्य तथा समतामूलक कानून, थिति निर्माण र कार्यान्वयन गर्नुपर्छ । महिला विकास सम्बन्धी एकिकृत कार्यक्रम ल्याउने, कार्ययोजना सहित कार्यक्रम सञ्चालन गर्ने र समन्वयमा प्रभावकारिता ल्याई महिलाको सवालमा साँझा उत्तरदायित्व बहन गरिनुपर्दछ । पहुँच तथा प्रतिफल बढाउनका लागि सहुलियत दरको ऋण तथा अनुदानको व्यवस्था गरिनुपर्दछ । महिलाहरुले के पाए त ? के भयो त ? भन्ने विषयमा अनुगमन मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाईनु पर्दछ ।
अन्त्यमा, महिला विकासको विषय महिलाको मात्र नभई सिंगो राष्ट्रकै सवाल हो । हरेक महिलाको सफलता पछाडी पुरुषको साथ, सहयोग र समर्थन रहेको हुन्छ । पछिल्लो समय विस्तारै महिलाहरु घरको भान्सादेखि खुला आकाशको यात्रा गर्दै छन् । यसैले महिला विकासको संदर्भमा नवपुस्ताको सकारात्मक भूमिका र पुराना पुस्ताको उदारताको खाँचो देखिएको छ । हाम्रा सामाजिक भूमिकामा परिवर्तन गर्न अत्यावश्यक छ । महिलाका बारेमा भागवत गीतामा उदृत गरिएको ‘यत्र नारायस्तु पजयन्ते तत्र रमन्ते देवता’ (जहाँ नारी पुजिन्छन्, त्यहाँ देवता रम्दछन्) भन्ने वाक्यांशलाई आत्मसात गर्न सकियो भने राष्ट्रकै उत्थानमा सहयोग पुग्ने देखिन्छ । अतः विविधताको भूमिकालाई सबैले सम्मान गरी अगाडि बढ्दै समानतालाई सहकार्यमा रुपान्तरण गर्न जरुरी छ ।
                                                                       (लेखक इस्मा गाउँपालिका गुल्मीको उपाध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update