Shittalpati
एसइई नतिजाले दिएको सन्देश

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१ दशमल ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । यस पटक एसइईमा नियमिततर्फ चार लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भए ।

एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् । अघिल्लो सालको तुलनामा यस वर्ष १३ दशमल ९५ प्रतिशतको उल्लेख्य वृद्धि हुनु समग्र शैक्षिक क्षेत्रकै लागि सकारात्मक सन्देश हो । गत वर्ष ४७ दशमल ८६ प्रतिशतमा सीमित रहेको उत्तीर्ण दर यस पटक ६१ दशमलव ८१ प्रतिशत पुगेको छ । यसले के प्रष्ट हुन्छ भने गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । यस पटकको नतिजाले विद्यालय शिक्षासँग सरोकार राख्ने धेरैलाई उत्साह जगाइदिएको छ । नतिजामा देखिएको उत्साहजनक सफलताले विद्यार्थी, शिक्षक, अभिभावकलाई हर्षित र गौरवान्वित तुल्याएको छ । यो सफलताले शिक्षा क्षेत्रमा गरिएको लगानी, मेहनत र समर्पणले सार्थकता पाउन थालेकोतर्फ सङ्केत गरेको छ । यो सफलतालाई कुनै एक पक्षको मात्र नभई सबैको सामूहिक प्रयासको प्रतिफलका रूपमा बुझ्नु पर्छ ।

गत वर्षको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएपछि सरोकारवाला सबैको ध्यान यस पटकको नतिजा सुधार गर्नुपर्छ भन्नेतर्फ केन्द्रित भएको थियो । उक्त घटनाबाट पाठ सिकेर शिक्षण सिकाइ क्रियाकलापमा व्यापक सुधार गरिएको थियो । तर एसइईमा उच्च अङ्कका साथ परीक्षार्थी उत्तीर्ण भए भन्दैमा चित्त बुझाएर बस्ने अवस्था भने छैन । किनभने अहिले पनि कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै स्वदेशमा सम्भावना नदेखेर बिदेसिने विद्यार्थी संख्यामा हरेक वर्ष वृद्धि भइरहेको छ । यो अत्यन्त दुखद् हो । विद्यार्थीलाई उच्च अङ्कका साथ उत्तीर्ण गराएर मात्र हुँदैन उनीहरुलाई स्वदेशमै बसेर सिपमूलक र व्यवहारिक शिक्षा प्रदान गर्न सके अहिले आएको नतिजाको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update