Shittalpati
मलको बर्सेनि अभाव, किसानलाई सधैं तनाव

यति बेला बर्खे धान रोप्न व्यस्त भएका किसान र बारीमा मकैं छरेर रासयनिक मल राख्ने तयारी गरिरहेका किसानहरुले सहजै रुपमा मल पाउन नसकेको गुनासो छ । अभावकाबीच मल पाइहालेमा पनि किसानहरू महँगो मूल्य तिर्न विवश छन् । यसले विगतमा जस्तै मल अभावको समस्या दोहोरिने देखिन्छ । सरकारले विगतका वर्षामा जस्तो यस वर्षाको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने भने पनि किसानहरुले मल नपाएको गुनासो गर्न थालेका छन् ।

बहुसंख्यक नेपाली कृषिमा आधारित भएको देशमा सधै मलकै अभाव हुनु लज्जाको विषय हो । कृषि प्रधान देश भनेर के गर्नु! जबजब किसानलाई रासायनिक मलको आवश्यकता हुन्छ त्यही बेला अभाव हुन्छ । मल अभाव हुँदा उत्पादनमा समेत ह्रास आउने गर्दछ । जसको परिणाम किसान र मुलुककै अर्थतन्त्र संकटमा पर्छ ।

रोपाइँको तयारीमा रहेका किसानलाई यस वर्ष मौसमले साथ दिने जस्तो देखिए पनि रासायनिक मलको पर्याप्तता सुनिश्चित गर्न नसकेर सरकारले भने अप्ठ्यारोमा पार्ने संकेत देखिएको छ । यति बेला रोपाइँमा होमिएका किसानले नै रासायनिक मलको अभाव खेप्नुपरेको छ । किसानले न समयमा मल पाउँछन् नत पर्याप्त सिँचाई नै । सबै समस्या ज्यूँका त्यूँ हुँदा पनि सरकार कृषकप्रति उत्तरदायी बनेको देखिँदैन । यसले हरेक वर्षा किसान खेती गर्न छोड्दै गएका छन् ।

यसले भोलि देशमा खाद्य संकट उत्पन्न हुन सक्ने सम्भावनालाई बढाउन सक्छ । यसतर्फ सरकारले किसानलाई खेतीतर्फ आकर्षित गर्न मल अभाव हुन नदिने र पर्याप्त सिंचाईको प्रवद्र्धन दीर्घकालीन रुपमा बनाउने दिशामा बेलैमा सोच्न आवश्यक छ । कृषि प्रधान देशका नागरिकले विदेशबाट कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था आउनु राम्रो होइन । सामान्यतया असार १५ सम्म पहाडमा र त्यसपछि तराईमा रोपाइँ तीव्र हुन्छ । तराईमा रोपाइँ सुरु हुन पनि समय थोरै छ । त्यसैले सरकारले समय छँदै मलको आपूर्ति र वितरणलाई चुस्त बनाउन सक्रियता देखाउनुपर्छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update