
असार १५ मा नेपाली समाजमा खेतमा रोपाइँ गरी दही–चिउरा खाएर मनाउने परम्परा छ । यस दिन रोपाइँ सकेको खुशीयालीमा भोजस्वरूप दही र चिउरा खाने गरिन्छ ।
सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रूपले नै असार १५ मा दही–चिउरा खाने प्रचलन रहँदै आएको हो । यस दिन रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही–चिउरा खाने चलन हाम्रो समाजमा छ ।
असारको आफ्नै महत्व र विशेषता छ । किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ । विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ । यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा झण्डै दुई दशक अघिदेखि आधिकारिक रूपमा मान्यता दिइएको हो । असार १५ मा हुने धान रोपाइँ र लोक लयमा आधारित हुने असारे भाकालाई नेपालका मौलिक संस्कृतिका रूपमा लिइन्छ । सांस्कृतिक महत्व बोकेको असारे भाका हिजोआज गाउँघर लेकबँेसीमा निकै कम गुञ्जिन थालेका छन् ।
अर्कोतिर रैथाने नेपाली धानका बीउजस्तै लोप हुने क्रममा छन् । यी मौलिक संस्कृति तथा भाकालाई लोप हुन नदिन सरकारी तथा जनस्तरबाट इमानदार प्रयत्नको खाँचो देखिन्छ । यसैगरी, असार १५ को अर्को विशेषता दही चिउरा खाने हो जुन अद्यापि प्रचलनमा नै छ । सायद खानपिनको विषय भएकाले हुनसक्छ, यो लोप हुने खासै चिन्ता गरिहाल्नुपर्ने अवस्था देखिँदैन । खेतको हिलोमा नटेके पनि सहरी क्षेत्रका नागरिकले समेत दही चिउरा खाएर १५ असारको पर्व मनाउँछन् ।
कृषिप्रधान मुलुक तथा राष्ट्रिय धान दिवस देशव्यापी रूपमा मनाइने भए पनि यस दिवसका केही कटु सत्य पनि नदेखिएका होइनन् । केही वर्षअघिसम्म पनि धान चामल निर्यात गर्ने राष्ट्र नेपाल अहिले बर्सेनि अर्बौं रुपियाँ बराबरको धान चामल आयात गर्नुपर्ने स्थितिमा छ । यो ज्यादै दुःखद तथा विडम्बनापूर्ण स्थिति हो । असार १५ लाई राष्ट्रिय धान दिवस वा सांस्कृतिक महत्वका दिनको उपमा दिएर मात्र सरकार वा अन्यको दायित्व पूरा हुने देखिँदैन । यसका लागि रचनात्मक वातावरण निर्माण गरेर यससम्बन्धी सम्भावनाका ढोका खोल्ने काम गर्नतर्फ ध्यान दिन जरुरी छ । यसो गर्न सके असार पन्ध्रको महत्व अझ बढेर जाने छ ।