Shittalpati
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती

रामचन्द्र रायमाझी
पाल्पा, बिहीबार तिनाउ गाउँपालिकाकी शान्ती थापा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगिन । उनले टिकटका लागि स्वास्थ्य बिमा कार्ड लिएर टिकट काउन्टर अगाडि लाईन बसिन । लाइन बसेको डेढ घण्टापछि उनको बल्ल पालो आयो । पालो त आयो तर उनले टिकट भने पाइनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको रिफर लेटर नभई टिकट नपाईने बताएपछि थापा निरास भएर पाल्पा अस्पताल पुगिन् । रिफर लेटरका लागि सरकारी अस्पताल पुगेकी उनी त्यहाँ पनि लाइनमा बस्नुपर्‍यो ।

लामो समय लाइन बसेर उनले रिफर लेटर लिन सफल त भईन तर सोही दिन लुम्बिनी मेडिकल कलेजमा पुगेर उपचार गराउन भने पाईनन् । अस्पतालको ओपीडि सेवा बन्द भइसकेकाले उनले त्यस दिन उपचारै नगरी फर्कनुपर्‍यो । थापा जस्तै ठूलो सङ्ख्यामा पाल्पा अस्पतालमा रिफर कार्ड बनाउनेहरुको भिड लाग्ने गरेको छ । बिमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका छन् ।

‘पहिले बिमाबाट राम्रो सेवा पाएका थियौँ त्यसैले स्वास्थ्य बिमा गर्‍यौं तर अहिले सेवा भन्दा बढी दुःख पाएका छौं’ तानसेनका अर्जुन घिमिरेले भने । बिरामी मान्छेले रिफर लिन र उपचार स्थलसम्म पुग्दा बिरामी बाटैमा मर्ने अवस्था भयो । बिरामीले सिधै चाहेको अस्पतालमा उपचार गर्न पाउनुपर्छ भनेको धेरै भयो अहिलेसम्म गुनासो सुनुवाई भएको छैन उनले गुनासो गरे । तानसेन ६ का ४० वर्षीय प्रदिप न्यौपाने पनि सरकारी संस्थाबाट रिफर कार्ड बनाउनै समस्या भएको बताए । रिफर कार्ड नै बनाउदा १ दिन लाग्दछ । अर्को दिन मात्र उपचार गर्नु पर्ने भयो । सरकारले नै अप्ठारो बनाएको उनले आफ्नो अनुभव सुनाए । नेपाल सरकारले स्वास्थ्य बिमा गरेकाहरूका लागि पहिलो स्वास्थ्य परीक्षण केन्द्र जिल्ला अस्पाताललाई निर्धारण गरेपछि थप झन्झट उत्पन्न भएको हो । स्वास्थ्य बीमा गरेपछि एक लाखसम्मको औषधी उपचारमा सहुलियत हुन्छ भनेर गरियो । स्वास्थ्य उपचारको पहिलो चरणमा तानसेनस्थित सरकारी अस्पातालमा परियो जहाँ आवश्यक सेवा सुबिधा नै छैन । आफूलाई पायक पर्ने अस्पतालमा स्वास्थ्य परीक्षण गर्न नपाउनु भनेको त राम्रो होइन ? पीडित न्यौपानेले भने । उनले भने ‘सरकारी अस्पतालमा गुणस्तरी सेवा नै हुँदैन, विशेषज्ञ सेवा छैन किन जाने त्यहाँ ?’ न्यौपानेले भने जस्तै सरकारी अस्पतालमा विशेषज्ञ सेवा नहुँदा अहिले धेरै बिरामीहरु रिफर लिएर अन्यत्र ठूला अस्पताल जाने गरेका छन् । जसले गर्दा सरकारी अस्पताल अहिले बिरामीको उपचार नभई रिफर केन्द्र बन्न पुगेका छन् ।

दैनिक जसो जिल्ला अस्पातालमा अहिले झण्डै तीन सय बिरामीहरु रिफर लिन जाने गरेको पाइन्छ । अस्पतालमा रिफर गर्ने छुट्टै डेस्क समेत नहुँदा रिफरमा समस्या भएको छ । अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामीहरुलाई रिफर दिनु परेको अस्पतालका मेसु डा. जगदीश कुंवरले बताए । उनले भने ‘हामीले सकेसम्म उपलब्ध स्रोत साधनबाटै सेवा दिइरहेका छौं, तर विशेषज्ञ सहितको सेवा नहुँदा बिरामी बाहिर जानु परेको हो ।’ दैनिक सेवामा रिफर कार्डले अप्ठारो बनाएको डा.कुंवरले बताए । स्वास्थ्य बिमा जिल्लाको रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ, खस्यौली, पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा लागु गरे पनि स्वास्थ्य बिमा गरेकाहरुको छनौट र रोजाईमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पर्ने गरेका छन् । नेपाल सरकारले आमजनताको आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ गर्ने गरी लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम रिफर कै कारण झन्झटीलो बनेको हो । सरकारले फागुनको १ गतेबाट लागु हुने गरी सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएका कारण विरामीले समस्या झेल्नु परेको आएको छ । स्वास्थ्य उपचारमा सबैको सहज र समान पहँुचका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिए पनि वर्तमान सरकारले आम जनतालाई स्वास्थ्य बिमा कार्यक्रम प्रति वितृष्णा उत्पन्न गराउन रिफर कार्ड अनिवाय गराएको सरोकारवालाहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update