
जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । प्रत्येक वर्ष श्रावणशुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा अर्थात रक्षाबन्धन मनाउने गरिन्छ । यस दिनलाई हिन्दुहरूको एउटा विशेष चाडकारुपमा लिइन्छ । नेपाल तथा भारतका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । नेपालको तराई क्षेत्र तथा भारतमा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा गुनुपुन्ही भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियल पूर्णिमा, अवनि अवित्तम तथा जे सुकैनाम दिए पनि हामीहरूका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ ।
जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा ब्रह्माणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । धार्मिक मान्यता के छ भने, यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ । आज देशैभर हिन्दु धर्मावलम्बिहरुले डोरा बाधेर रक्षाबन्धन अर्थात् जनैपूर्णिमा पर्व मनाइँदै छन् । यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ । नयाँ फेरिएको जनै र रक्षाबन्धनले धेरै कुराबाट सुरक्षित राखेर रक्षा गर्छ भन्ने धार्मिक किंवदन्ती छन् । सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरू बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा पर्व मनाइने गरिन्छ, तर पछिल्लो समय नेपाली समाजमा नयाँ पुस्ताले भने भुल्दै जान थालेका छन् । उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन् । यसको सामाजिक महत्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । यो अत्यन्त दुखको कुरा हो । पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन ।
अगाडिका वर्षमा धुमधमका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य जस्तै बनेको छ । रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्मअनुशासनको एउटा विधी हो । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । आजको यस महत्वपूर्ण पर्वको सुअवसरमा सकारात्मक सोच र आत्मियताको विकासका लागि शक्तिप्रदान गर्न सकोस् सम्पूर्णमा हार्दिक शुभकामना ।