
पछिल्लो समय युवाहरु विदेश पलायन हुने श्रृङ्खला बढ्दै गएको छ । रोजगारीको शिलशिलामा होस् वा अध्ययनका लागि युवाहरु विदेशीने क्रम बढ्दो छ । युवालाई विदेश पलायन हुनबाट रोक्न न त राज्यले नै नीतिगतरुपमा काम गर्न सकेको छ, न त निजी क्षेत्रमै लगानी विस्तार हुन सकेको छ । लगानी विस्तार नभएका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएर रहेको अवस्था छ । रेमिट्यान्सबाट प्राप्त रकमसमेत उत्पादनमूलक क्षेत्रमा प्रयोग हुन सकेको छैन । उद्योग व्यवसायहरु धमाधम बन्द हुने क्रममा छन् भने नयाँ उद्योगमा लगानी प्रतिबद्धता बढ्न सकिरहेको छैन । जसले गर्दा प्रत्यक्ष असर युवामा परेको छ । देशमै पर्याप्त रोजगारी नपाउँदा युवाका लागि वैदेशिक रोजगारी बाध्यकारीजस्तै बन्न पुगेको छ । देशमा बसेर केही हुँदैन भन्ने भाष्य निर्माण भइरहेको छ । जसका कारण वैदेशिक रोजगारीका लागि देश छोड्नेहरुको जमात बर्सेनि बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ८ लाख ३८ हजार ६ सय ८६ पुगेको छ । जुन हालसम्मकै उच्च संख्या हो ।
दुई वर्षअघि नेपालबाट मासिक औसत ४० हजार जना वैदेशिक रोजगारीमा जाने गरेका थिए । नेपालबाट वैदेशिक रोजगारीका लागि मुख्य रूपमा मध्यपूर्वका मुलुक, मलेसिया र युरोपेली मुलुकमा जाने गरेका छन् । सरकारी तथ्यांकअनुसार खाडी राष्ट्रमध्ये युएई जानेको संख्या उच्च दरले बढेको छ । यसैगरी कतार, मलेसिया, साउदी अरब, कुबेत, बहराइन, कोरिया जाने युवाको संख्या पनि उच्च छ । केही वर्षयतादेखि युरोपेली मुलुकमा पनि नेपालीहरू काम गर्न पुगेका छन् । खाडी र मलेसियाको तुलनामा युरोपेली मुलुकमा सेवासुविधा बढी हुने र काम गर्ने वातावरण पनि सुरक्षित भएकाले त्यसतर्फ थप आकर्षण बढेको छ । युवा जनशक्ति नै विदेश पलायन हुन थालेपछि मुलुकमा दक्ष जनशक्ति अभाव हुन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । सरकारले मुलुकभित्रै पर्याप्त रोजगारीका अवसरको वातावरण निर्माण गर्न ढिलाइ गर्नुहुँदैन । कृषि क्षेत्रको आधुनिकीकरण गर्दै लगानीमैत्री वातावरण बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी रोजगारीका क्षेत्रको विस्तार गर्न नसक्ने हो भने वैदेशिक रोजगारीको समस्या झनै विकराल हुने निश्चित छ । तसर्थ, सरकारले विविध क्षेत्रको प्रवद्र्धन गरी युवालाई उद्यमशील बनाउन र विदेशबाट फर्केका युवाको सीपलाई स्वदेशमै परिचालन गर्ने वातावरण बनाई देशमै युवाहरुलाई रोक्ने दिशामा अग्रसरता देखाउन जरूरी छ ।