Shittalpati
पेशाकर्मी र श्रमिकहरु सडकमा

रामचन्द्र रायमाझी
पाल्पा, संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ । महिना दिनदेखि निरन्तरजसो सत्तापक्ष र विपक्षी दलको सडक संघर्षले यति बेला राजनीतिक बजार चल्मलाएको हो । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आ–आफ्नै तर्क लगाएर विरोध प्रदर्शन गरिरहेका छन् । संसद् विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीतिक दल, नागरिक समाज सडक आन्दोलनमा रहिरहेका बेला पेशाकर्मी र श्रमिकहरु पनि सडकमा उत्रिएका छन् । सरकारको गलत कदमका कारण पेशा व्यवसाय र श्रम गर्नेहरु समेत चमेटामा पर्न थालेपछि शनिबारदेखि नेपाली काँग्रेस आवद्ध पेशाकर्मी तथा श्रमिकहरु देशभर नै सडकमा उत्रिएका हुन् । कोरोना महामारीका बेला सरकारले जनताको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जनताको आवाज सुनाउने स्थल नै बन्द गरेर सरकारले असंवैधानिक कदम चालेकाले त्यसको विरुद्धमा आफुहरु सांकेतिक विरोध प्रदर्शन गर्दै सडकमा आएको पेशाकर्मी तथा श्रमिकहरुले बताएका छन् । सडकमा राजनीतिक दलहरुबिच सभा, जुलुस, धर्नाको जुहारी चलिरहदा उनीहरु भने पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै शान्तिपूर्ण सडक प्रदर्शनमा उत्रिएका हुन् । शनिबार पाल्पा सहित देशैभरका नेपाली काँग्रेस आवद्ध पेशाकर्मी तथा श्रमिकहरुले सरकारको गलत कामको विरोधसँगै जनजीविकाका पक्षमा शान्तिपूर्ण सडक प्रदर्शन गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका थिए । प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, मानव अधिकारको रक्षा गर, विधिको शासन कायम गर, श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर, प्रेस स्वतन्त्रता विरोधी कानुन संशोधन गर, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर, समानुपातिक विज्ञापन नीति लागु गर, श्रमजीवी पत्रकार ऐन लागु गर, पेशागत सुरक्षाको ग्यारेन्टी गर, ‘अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?’, ‘कोरोना कहरमा पत्रकारको विचल्ली’, ‘नेता भोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’, कोरोनाबाट प्रभावित पत्रकारलाई राहतको प्याकेज ल्याऊ जस्ता माग लेखिएको थियो । उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेस,नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल निजामती कर्मचारी युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ लगायतका संघसंस्थाहरु विरोधमा उत्रिएका थिए । लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्ने काम भएकाले त्यसको विरुद्धमा नेपाल प्रेस युनियन पनि शान्तिपूर्ण सडक प्रदर्शनमा उत्रिएको युनियनका जिल्ला सभापति भरत शर्माले बताए ।

कोरोनाकालमा समेत सबैभन्दा पीडित रहेका श्रमजिवी पत्रकारहरुलाई लक्षित गरी विशेष प्याकेज तथा कार्यक्रम ल्याउन युनियन पाल्पाले सरकार समक्ष माग गरेको छ । आयोजित सभामा बोल्दै नेपाल शिक्षक संघका सभापति धनाकला गाहाले संविधान विपरित गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताइन् । उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले संसद् विघटन गरेकाले पार्टीको केन्द्रिय सर्कुलर अनुसार आफूहरु विरोध प्रदर्शनमा उत्रिएको बताइन् ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update