Shittalpati
उच्च रक्तचाप नियन्त्रण गरौं

रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा हुने दबाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्छ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भनिन्छ । क्रियात्मकरूपले स्वस्थ व्यक्तिमा सिस्टोलक १००–१३ हुन्छ भने डाएस्टोलिक ६०–८५ एमएमएचजीसम्म रहन्छ । यदि रक्तचापले यी मानविन्दु नाघेमा रक्तचापको समस्या भएको मानिन्छ । सामान्यतया सिस्टोलिक १२० र डाएस्टोलिक ८० लाई आदर्श रक्तचाप मानिन्छ । पछिल्लो समय उच्च रक्तचापका विरामी बढ्दै गएका छन् । पहिले निश्चित उमेर पुगेपछि मात्र देखिने रगत तथा मुटुसम्बन्धी रोग पछिल्लो समय वृद्ध, युवा सबैमा बढ्दै गएको छ । यो चिन्ताको विषय हो ।

मुटु तथा कोरोनरी धमनी जस्ता रोगको मुख्य कारक, मस्तिष्कघात, मिर्गौला फेलिएर र दृष्टिनाश जस्ता समस्याको मूलजरोका नामले सम्बोधन गरिएको यो रोग प्रत्येक वर्ष ९० लाख मानिसको मृत्युको कारण पनि हो । संसारभर तीनमध्ये एक जना मानिसमा उच्च रक्तचापको समस्या छ भने करोडौं मानिस यही रोगका कारण उत्पादकमूलक जीवन जीउनबाट वञ्चित छन् । उच्च रक्तचाप आफैंमा कुनै रोग होइन तर सयांै रोगको जननी हो । यस कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात (दृष्टि गुम्नु) मुटु सुन्निने, रक्तनली तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थता जस्ता समस्या आउन सक्छ । चिल्लो, नुनिलो वा सुर्तीजन्य र मदिराजन्य पदार्थको बढी सेवनले यस्तो समस्या आउने गर्दछ । बढी तनाब लिने र निस्क्रिय जीवनशैलीले अहिले धेरै मानिसले यस्तो समस्या भोग्नुु परेको छ । समयमै पत्ता लगाएर नियन्त्रण गर्न सकिएन भने उच्च रक्तचाप प्राणघातक बन्न सक्छ ।  उच्च रक्तचाप नियन्त्रणका लागि  सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मे १७ तारिखका दिन विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ । शनिबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइएको छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा यसको नियन्त्रण गर्न जरुरी छ । हैन भने अवस्था भयावह हुने निश्चित छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update