
बागलुङ, रासस /दिउँसो १ः०० बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्याङ्रिन थाल्छन् । भुजीखोला छेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेलिएपछि घर फर्कन्छन् । बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म कक्षा चल्छ, खुला आकाशमुनि । चिसो भुइँ, धुलोको उस्तै कहर । घामै लाग्दा पनि भुजीखोलाको साँठले बेलाबेला हिर्काउँछ । बस्नलाई ओछ्याइएका बोरा र सामानका खोल पनि फाटेर धुजाधुजा छन् । यस्तो कठिन स्थितिमा कसरी पढ्दा हुन् ती कलिला बालबालिका ढोरपाटन नगरपालिका ९ सुप्राङस्थित उक्त विद्यालयमा पुग्दा जो कोहीको मनमा प्रश्न उब्जन्छ । ‘कक्षाकोठामा सिकाइमैत्री वातावरण’को आदर्श वाक्यले गिज्याइरहेको आभास मिल्छ ।
गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालयको भवन बगाएपछि बालबालिकालाई खुला चौरमा राखेर पढाउन शिक्षक बाध्य छन् । “बाढीले नामोनिसान नराखी विद्यालय लग्यो, कुनै विकल्प नभएपछि खुला चौरमा राखेर पढाउनुपरेको हो”, विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले बताए । प्रधानाध्यापकले अहिले विद्यालयसँग कक्षाको समय जनाउका लागि घण्टीसमेत नभएको पीडा सुनाए । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश दलित समुदाय र न्यून आय भएका परिवारका बालबालिका पढ्छन् । यसै त कमजोर हालतमा रहेका बालबालिकालाई प्राकृतिक विपत्तिले झन मार थपेको छ । चिसो झेल्न न्यानो कपडादेखि पाठ्यपुस्तक लगायत शैक्षिक सामग्रीको अभाव छ ।
भविष्यका कर्णधार बालबालिका पीडादायी स्थितिबाट गुज्रिरहेका छन् । स्तरीय र बालमैत्री सिकाइको अवसरबाट उनीहरु वञ्चित छन् । प्रअ घर्तीमगरका अनुसार अझै दुई/तीन महिना ती बालबालिका कक्षाकोठामा फर्कन पाउने छैनन् । “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत दुई कोठे भवन बन्दैछ, त्यसैलाई बारबुर पारेर भए पनि कक्षा चलाउनुपर्ला”, “तत्काललाई अस्थायी प्रकृतिको टहरा बनाउने भनेर सोचेका थियौँ तर कतैबाट स्रोत जुटेन ।” प्रअ बताउँछन् । प्रअ घर्तीमगरले स्थलगत अवलोकनपछि विद्यार्थीको अवस्था देखेका त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घ र प्रदेशका सांसदले कुनै सहयोग नगरेकामा दुःखेसो व्यक्त गरे । नगरपालिकाले भने ३० थान बेञ्चका लागि बजेट दिएपछि अहिले काम भइरहेको विद्यालयले जनाएको छ । पुनःनिर्माण प्राधिकरणमार्फत बनिरहेको भवन वैशाखसम्म सक्ने लक्ष्य छ । सोही भवनमा तला थपका लागि अमेरिकामा रहेका प्रवासी नेपालीबाट रु २५ लाख बजेटसमेत नगरपालिकाको राहत कोषमा जम्मा भइसकेको जनाइएको छ । भवन बनाउने जग्गा खरिदका लागि पनि सोही ठाउँबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका प्रवासीले रु ३० लाख विद्यालयलाई उपलब्ध गराएका थिए । शिक्षक जमुना पुनम मगरले चिसो भुइँमा राखेर बालबालिकालाई पठाउँदा साह्रै पीडाबोध हुने गरेको बताए । “धेरै गाह्रो अवस्था छ, न बोर्ड छ, न शैक्षिक सामग्री, घाम हुञ्जेलसम्म जेनतेन पठाउँछौँ, त्यसपछि यहाँ बस्नै सकिँदैन, विद्यालय भवन छिटो बन्दियोस् भन्ने लागेको छ”, उनले भने,”, “पानी परी हालेमा विद्यार्थीले ओत लाउने ठाउँसम्म छैन ।” कक्षा २ मा अध्ययनरत अङ्कित विकले दुवाल गाउँदेखि एक घण्टा हिँडेर विद्यालय आउने गरेको बताए । जाडो याममा धुलो भुइँमा बसेर पढ्दा गाह्रो भइरहेको अङ्कित विकले बताए ।
उक्त विद्यालयमा बाढीमा अभिभावक गुमाएका नौ बालबालिका पढ्छन् । कूल १५० मध्ये अधिकांश बालबालिका बाढीबाट प्रभावित परिवारकै छन् । प्रअ घर्तीमगरलगायत अन्य शिक्षकको परिवार पनि बाढीबाट प्रभावित छन् । प्रअ घर्तीमगरले विद्यालयले भोगिरहेको समस्यामा सम्बद्ध पक्षबाट बेलैमा ध्यान पुग्नुपर्ने र उचित सम्बोधन हुनुपर्ने बताए । नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले विद्यालय पुनःनिर्माणलगायत शैक्षिक सुधारका काममा नगरपालिकाकै नेतृत्वले पहलकदमी लिनुपर्ने बताए । “बाढीपीडित राहत कोषमा पनि रकम जम्मा भएको छ, त्यसलाई पनि परिचालन गर्ने र अन्य स्रोत पनि जुटाएर काम अघि बढाउनुपर्छ”, पोखरेलले बताए । नगरपालिकाको राहत कोषमा देशविदेशबाट गरी हालसम्म झण्डै रु दुई करोड ५० लाख जम्मा भएको छ । उक्त रकम बाढी प्रभावित परिवारको पुनःस्थापनामा खर्च गरिने नगरपालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारले पनि पुनःनिर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ । यसअघि सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण थाल्ने निर्णय गरेको थियो । बाढीले सोही वडाको सरस्वती आधारभूत विद्यालयको तीन कोठा र शौचालय पनि क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा सो विद्यालयका कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । भुजीखोलामा आएको बाढीले ठूलो धनजनको क्षति निम्त्याएको थियो ।