Shittalpati
उपकरणले पछि पारेको मानिसको खुसी

सुन्दा पत्यार नलाग्न सक्छ, तर सत्यता गहिराईमा छ कि उपकरणको वृद्धि र विकाससंगै मानिसको खुसी भने पछि परेको छ । मानवको उत्पत्ति, विकास र मनस्थितिमा आएको विकासलाई हेर्ने हो भने शारीरिक मनोवैज्ञानिक र भावनात्मक रुपमा जसरी विकासले फट्को मारेको छ, त्यसको तुलनामा मस्तिष्क पनि विकास हुँदै गएको भने छैन । मस्तिष्कको कार्यक्षमता र त्यसको नियम प्राकृतिक रुपले नै चलिरहेको छ । विश्वभर जति– जति मात्रामा नयाँ–नयाँ प्रविधि र किसिम–किसिमका मोवाइल, कम्प्युटर, आइप्याड, ट्याब्लेट, लगायतका उपकरणको आविष्कार प्रयोग र आदत बढेको छ । त्यतिकै मात्रामा त्यसले मान्छेको खुसी खोसिरहेको छ ।

अरु हेर्दा त आज मानिस आफ्ना हातमा संसार लिएर घुम्न सकेको, संसारलाई आफ्नै हातबाट जान्न बुझ्न र नियन्त्रणमा लिन सकेको अनुभूति गर्छन् र घमण्ड पनि । तर मानव स्वास्थ, पारिवारीक संरचना, आध्यात्मिक विकास लगायतका बहुआयामबाट हेर्न थाल्यो भने थाहा लाग्छ यसले जति खुसी दिइको छ, त्यो खुसीलाई चाहेर दीर्घकालीन बनाईराख्न त्यति नै चुनौतीपूर्ण पनि छ । ती आयामलाई छोटकरीमा बुझ्ने कोशिस गर्ने हो भने व्यवहारिक र प्रयोगात्मक लाग्न सक्छ । मानिसमा बाहिर प्रस्फुटन हुने खुसी मस्तिष्कबाटै प्राप्त हुने हो ।

हाम्रो मस्तिष्कमा उत्पादन हुने डोपामिन नामको हर्माेनले हामीलाई खुसी अवस्थामा रहन प्रेरित गर्छ । हाम्रो योजना, आन्दोलित मन, प्रतिक्रिया आदि क्रियाकलाप अनुसार डोपामिन उत्पादन हुन्छ । त्यसलाई मस्तिष्कले रिसिभ गर्छ र हामीमा खुसीको अनुभूति हुन्छ । पुरानो जमानामा मानिसका हातमा धेरै प्रकारका उपकरण थिएनन्, त्यसैले तत्कालीन खुसी सन्तुलनमा थियो । सबै कुरा प्राकृतिक रुपले चलिरहेको थियो । अहिले धेरै उपकरण धेरै तरिकाको प्रयोगले क्षणिक रुपमा तत्कालै खुसी प्राप्त गर्ने माध्यम धेरै छन्, तर धेरै मात्रामा उत्पादन भएको डोपामिन मस्तिष्कले ग्रहण र रिसिभ गर्न सक्छ भन्ने छैन । मस्तिष्कको आफ्नो कार्य हुन्छ । धेरै कुुरा एकैचोटी प्राप्त गरेर ग्रहण गर्न सकिदैँन । त्यसो हुदाँ ग्रहण गर्ने क्षमता ह्रास हुदै जाने सम्भावना हुन्छ । सामाजिक सञ्जालका समाचार एंव प्याड, ट्यावलेट लगायत विविध उपकरणको एकैचोटिको प्रयोग र त्यसमा रहेका उत्तेजनात्मक सामग्रीले दिने खुसी एकैचोटी प्राप्त हुनु पनि प्राकृतिक होइन ।

यसले मस्तिष्कमा उत्पन्न हुने डोपामिन हार्माेन र सामान्य क्रियाकलापलाई सन्तुलन राख्न बाधा पुगिरहेको हुन सक्छ । आजका मानिसलाई आफ्नो जीवनशैली, परिवार, स्वास्थ भन्दा पनि आवश्यक चिज मोवाइल, कम्प्युटर जस्ता उपकरण हुन भन्ने लाग्न थालेका छन् । अझ चिज कतै छुटोस् या बिर्सियोस् त्यति धेरै वास्ता हुदैँन जति धेरै वास्ता आफ्नो साथमा मोवाइल नहुदाँ हुन्छ । एकछिन आफ्नो उपकरण आफ्नो साथमा हुँदैन भने चिन्ता हुन्छ । आफुमा कस्तो संवेदना घटित भएको छ, सकारात्मक ऊर्जाले आफु रिचार्ज छु कि छैन वास्ता हुँदैन तर मोवाइल रिचार्ज गर्ने र बेट्री चार्ज गर्ने काममा हरपल होस बनिरहन्छ । आफ्नो ध्यान योग, स्वास्थ्य, सम्बन्ध, जीवनशैलीलाई समय–समयमा ख्याल गर्दै छुटेका कुरा समायोजन गर्दै लैजाने बानी पनि छुटिसकेको छ भन्दा अनुपयुक्त हुँदैन ।

मोवाइलमा कुनै समाचार आओस्, नआओस् मोवाइल हेरिरहन मन लाग्छ । बेला–बेलामा नहेरी मनले नै मान्दैन । स्वतः हात मोवाइलमा जान्छ कुनै मिटिङ्ग या सेमिनारमै बसेको किन नहोस् । मानिसलाई थाहै नपाई बसेको यो आदत स्वास्थ्य जीवनशैलीका लागि कदापि प्रतिकूल छैन । यसले नजानिदो तरिकाले हाम्रो खुसी बढाएको होइन, कम गर्दै लगेको छ । बढ्दै गइरहेको उपकरणको प्रयोगले बालबालिकादेखि युवा र वृद्धसम्म, कामकाजी मानिस र घरायसी काममा व्यस्त हुने सबै किसिमका मानिसलाई सहज बनाएको छ । सूचना र सञ्चार क्षेत्रमा विकास गरेको छ । तर बालबालिकाको मानसिक विकासमा भने नजानिदो तरिकाले असर पुर्‍याइरहेको हुन्छ ।

यो तथ्यलाई विभिन्न अनुसन्धानले समेत पुष्टि गरिसकेका छन् । उपकरणकै बढ्दो प्रयोगले व्यक्तिमा प्रेम होइन, उपकरणप्रति प्रेम बढेको छ । व्यक्ति हृदयमा होइन कुनै उपकरणमा सीमित हुन थालेको छ । तयारी, दुखी, खुसी र क्षणिक उत्तेजनामा रमाउने बानी परेको छ । अनुशासन र मर्यादामा त्रास आउन थालेको छ । व्यक्ति आज मानवताको स्वभावबाट हटेर उपकरण जस्तो भएको छ । यसले गर्दा बेचेनी, छट्पटी क्रोध, लोभ, मोह सबै अवगुण विकसित हुँदै गएको छ । पाहुना हुन जाँदा समेत पहिले चियापानीको अपेक्षा हुन्थ्यो भने हिजोआज नेटवर्क छ कि छैन, वाईफाइ छ कि छैन भनेर चिन्तित र सचेत हुनुपर्ने अवस्था छ । यो बर्हिमुखी खुसीका माध्यमले मानसिक विकासमा सहयोग पुर्‍याउँदैन, बरु बाधक बन्न सक्छ । प्राकृतिक आवरण, मानसिक शान्ति गुमाएर क्षणिक खुसीका साधनमा अल्झिनु पटक्कै बुद्धिमता हुँदैन ।

बालबालिकाको गृहकार्य सिकाउन, गणितका समस्या समाधान गर्न होस या जुनसुकै भाषामा निबन्ध लेखन, अनुसन्धानका पक्ष होउन् या कुनै पनि शैक्षिक सिर्जनात्मकता अब यूट्युब र गुगलमा भेटिने हुँदा औला भाँच्दै गणितको समाधान गर्न पनि परेन । कुनै पनि विषयमा गहन भएर सोच, समझ र आफ्नो स्वःविवेकको प्रयोग गर्नु पनि परेन । गुगलमा ब्राउज गर्ना साथ जे चाहियो त्यही आउँछ । यसले सहज र सरल बनाएको होला तर आन्तरिक सिर्जनात्मकता भने पुरै नोक्सान भएको छ भन्दा अनुपयुक्त हुँदैन । खाना खाने समयमा परिवारका सबै सदस्यहरु भान्सामा जम्मा हुने त चलनै हरायो । आ–आफ्नो कोठा बन्द गरेर मोवाइल, कम्प्युटर आदि उपकरणमा घोप्टे मुन्टोका साथ व्यस्त हुन्छन् । एउटा कोठाबाट अर्को कोठामा मोबाइल कल गरेर बोलाउनु पर्ने अनि यसैलाई सभ्यता मानिन्छ । सहजताका नाममा विसंगति र विकृति पनि भित्रिरहेका छन् र व्यक्तिको सिर्जनात्मकता अनि मौलिकता नष्ट हुँदै गइरहेको छ भन्ने बोध भएन भने हाम्रा उपकरणले खुसी होइन, नचाहिदो तरिकाले दुःखी बनाउँदै लगेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update