
जनता आफैले निर्वाचित गरेका जनप्रतिनिधि आफ्ना नजिकका गुनासो सुन्ने र सहयोग गर्ने व्यक्तिहरू हुन् भन्ने आम नागरिकमा बुझाइ छ । स्थानीय वडा र पालिकाबाट बिनाझन्झट छिटोछरितो सेवा प्रवाह प्राप्त भएको महसुस नागरिकले गर्न चाहन्छन् । विकास निर्माणका क्षेत्रमा त झनै चासो र अपेक्षा राख्छन् । त्यो स्वभाविक नै हो । तर जनताप्रति साँच्चै उनीहरु उत्तरदायी छन् ÷ छैनन् भन्ने कुरा महत्वपूर्ण हो । यद्यपी अधिकांस जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुन सकिरहेका छैनन् । यो अत्यन्त दुखको कुरा हो । ओरालो लागिरहेको आर्थिक गतिविधि, रोजगारी अभावमा भौँतारिइरहेका युवा, संकटोन्मुख मनसुन, मल अभाव र कृषि उत्पादनले मूल्य नपाउनु जस्ता नागरिकले प्रत्येक दिन झेल्नुपर्ने समस्याप्रति जनप्रतिनिधि बेखबर छन् ।
जनताका समस्यामा जनप्रतिनिधि गम्भीर हुनुपथ्यो । तर त्यसो हुन सकिरहेको छैन । यो आफैमा विडम्वनाको कुरा हो । पूर्ण लोकतान्त्रिक युगको ढोका खोल्ने ऐतिहासिक अवसर जनताले दिएका छन् । त्यसको सही सदुपयोग गर्ने अभिभारा स्थानीय जनप्रतिनिधिकै हो । तर, निर्वाचित भएको छोटो समयमा नै कतिपय स्थानीय तहमा भ्रष्टाचार बढेको, कतिपय जनप्रतिनिधि अख्तियारद्वारा आर्थिक लेनदेनमा रंगेहात पक्राउ परेका तथा कतिपय पालिकामा बढ्दो आर्थिक अनियमितताकोे कारण जनतामा निराशा छाएको छ । जनताले चाहेको शक्तिशाली स्थानीय सरकारका जनप्रतिनिधिको उपलब्धि यो स्तरको कमजोर हुने कुरा कसैले पनि कल्पना गरेका थिएन । तर, पछिल्लो समय यस्तै भइदिएको छ । जनप्रतिनिधि जिम्मेवार नहुँदा नागरिकको आशा र भरोसा पनि टुटेको छ । जनतालाई अब भरोसा दिलाउन आवश्यक छ । त्यसका लागि यो गलत अभ्यासबाट पाठ सिक्दै अब सकरात्मक दिशातर्फ बाटो समाई जिम्मेवारी बहन गर्नु हरेक जनप्रतिनिधिको पहिलो कर्तव्य हो । यसतर्फ जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ ।