
राजनीतिक दलका नेताहरुप्रति नागरिकहरु असन्तुष्ट बन्दै गएका छन् । पछिल्लो समय राजनीतिक दलहरुका गतिविधिहरुबाट नागरिक आजित भएका छन् । शासन प्रणालीमा व्याप्त भ्रष्टाचार र अनियमितता नरोकिँदासम्म मुलुकको विकास र समृद्धि सम्भव छैन भने आम जनतामा पनि खुशी र उमंग छाउन सक्दैन । यसो त शासन प्रणाली सञ्चालन गर्ने नेताले आफूहरूको मुख्य उद्देश्य नै जनताको घरदैलोमा सेवा प्रवाह कायम गरी मुलुकको विकास र समृद्धि हासिल गर्नुमा नै केन्द्रित रहने गरेको बताउने गरेका छन् । तर सोहीअनुसार सरकारी सेवालाई समानरूपमा जनताको घरदैलोमा पुर्याउन उनीहरू अक्षम साबित हुँदै आए । यसका कारण राणा शासन, पञ्चायत शासन र राजाको प्रत्यक्ष शासनसमेत पतन हुन पुगेको यथार्थ हामीसामु छ । बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थाका कतिपय शासकसमेत भ्रष्टाचारमा चुर्लम्म डुब्न पुग्दा लोकतान्त्रिक शासन प्रणालीमा पनि गम्भीर समस्या देखिँदै आएको छ । शासकको गैरजिम्मेवारीपनका कारण जनताले असल शासनको अनुभूति गर्न कहिल्यै पाएनन् । त्यसैले पनि आमनागरिकमा दलहरुप्रति वितृष्ण पैदा हुँदै गएको छ । यो अत्यन्त दुःखको कुरा हो ।
राजनीतिक दलहरुको क्रियाकलापले आमनागरिकमा निराशा छाएको छ । जसको मौका राजावादीहरुले लिएका छन् । दलहरु भने एक–अर्कालाई आरोप लगाएर लोकतान्त्रिक व्यवस्थालाई नै कुरुप बनाउने खेलमा सक्रिय छन् । दल–दलबीचको लडाइको फाइदा अहिले दलीय व्यवस्था विरोधी तत्वले लिइरहेका छन् । यस्तो हुँदा समेत दलका नेताहरुमा चेत आउन नसक्नु विडम्बना हो । व्यवस्थामाथि प्रहार भइरहँदा सरकार र दलहरु चुक्क समेत बोल्न नसक्नुले प्रश्न चिन्ह खडा गरेको छ । जे भए पनि संसदीय व्यवस्थाको विकल्प राजसंस्था हुन सक्दैन । त्यसैले अहिलेको यो व्यवस्थालाई चलाउनेहरुमा देखिएको बेथिति र विसंगतिलाई कसरी हटाउन सकिन्छ भन्नेतर्फ लाग्नु उचित हुन्छ। यद्यपि दलहरुले एक अर्काको अस्तित्वमाथि प्रश्न उठाउनुभन्दा आफ्ना विगतका गल्ती सच्याएर अगाडि बढ्नुको विकल्प छैन् ।