Shittalpati
सडक प्राथमिकता र पूर्वाधारसडक प्राथमिकता र पूर्वाधार

सरकारी तथा गैरसरकारी क्षेत्रहरुको पूर्वधारको पहिलो प्राथमिकता सडक पर्ने गरेको छ । सडक भनेको आमनागरिक र उनीहरूको दैनिक जनजीवनसँग जोडिने पूर्वाधार भएकाले यो पहिलो प्राथिमकतामा पर्नु स्वाभाविक नै हो । मोटर बाटोको पहुँच नभएका अनगिन्ती ठाउँहरू, अप्ठ्यारा र जोखिमपूर्ण बाटाहरू, कच्ची तथा साँगुरो सडक आदि विविध अवस्थाले मुलुकमा यातायात सम्बन्धी पूर्वाधारको अपर्याप्ततालाई लक्षित गेरको छ । यातायातको वृहत योजना बनाई प्राथमिकताका आधारमा निर्माण प्रक्रिया अगाडि बढाइनुपर्छ ।

रणनैतिक प्रकृतिका सडकलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्रको विकासमा यातायात पूर्वाधारको अत्यन्त महत्व रहन्छ । हाम्रो जस्तो मुलुक जहाँ ८० प्रतिशत भू–भाग अग्ला पहाड र हिमालले ढाकेको छ र जनसंख्याको ठूलो भाग ग्रामीण भेगमा बस्छ, यातायातका भौतिक पूर्वाधार थप महत्वपूर्ण हुन्छ । जनआन्दोलनको सफलतापछि नेपालले सडक निर्माण र दूरसञ्चारका क्षेत्रमा ठूलै फड्को मारेको पक्कै हो । सडक पूर्वाधार नै विकासको द्योतक हो ।

सडक पूर्वाधार बनेपछि मानिसलाई गरिखानेस्थिति सिर्जना हुन्छ । तर, यसको अर्कोपाटो पनि नभएको भने होइन । सडक पुगेसँगै थुप्रै ग्रामीण क्षेत्रहरू स्थानीय उत्पादनको सट्टा आयातित हरियो तरकारी, खाद्यान्न र फलफूलमा भरपर्न र प्याकेजिङ्ग वस्तु उपयोग गर्न उद्यत देखिएका छन् । सडक पुगेका ठाउँमा लोड ट्रक पुग्ने र फर्किदा रित्ता ट्रक दौडिने कुरा कसैको नजरबाट छिपेको छैन । सडक पूर्वाधार नै विकासको द्योतक हो भन्ने नाममा तराईका उर्बरभूमि र पहाडका मनमोहक डाँडा सबै घाउचोटयुक्त भएका छन् । सरकारले समग्र पूर्वाधार विकासको योजना तयार गरी यातायात सम्बन्धी पूर्वाधारलाई प्राथमिकता दिएर व्यापक रूपमा बाटो, सडक तथा राजमार्ग निर्माण गर्न आवश्यक छ ।

सडक निर्माणले देशको उत्पादकत्व बढाउन उल्लेख्य मद्दत पुर्‍याउँछ । आमजनताको यातायात सहज हुने, वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा व्यापारलाई सहज बनाउन र तीव्र रूपमा भएको बसाइसराइलाई केही मत्थर गर्न तथा पर्यटनका नयाँ क्षेत्र तथा गन्तव्य थप्न यातायात पूर्वाधारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update