Shittalpati
अझै खुलेन राम्दी–रिडी ट्रयाक

कृष्ण पोखरेल
पाल्पा । ठेक्का सम्झौता भएर काम सुरु भएको ८ वर्ष हुन लाग्दा समेत राम्दीदेखि रिडी सम्मको ट्रयाक खुल्न सकेको छैन । निर्माण व्यवसायीको चरम लापरवाही र कालिगण्डकी करिडोर पाल्पाको वेवास्ताका कारण राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको यो ट्रयाक अझै पनि खुल्न नसकेको हो । पाल्पाको राम्दीदेखि रिडी सम्मको ३० किलोमिटर सडकमा ठेक्का सम्झौता भएपनि अझै ट्रयाक पूरा नहुँदा सवारी साधन वारपार हुन सकेका छैनन् । सडकको ट्रयाक नखुल्दा निर्माण व्यवसायीले सजिलो क्षेत्रमा खनेका सडकहरु समेत पुरिएका छन् । कालिगण्डकी करिडोरको राम्दी–रिडी सडक खण्डको बिच भागमा रहेको बगनासकाली गाउँपालिकाको दर्पुकदेखि दैलातुङ्गसम्मको सडकको अहिलेसम्म ट्रयाक खुलेको छैन । बगनासकाली ६ को मन्द्रान शिखरडाँडा क्षेत्रमा करिव ५ सय मिटर सडकमा निर्माण व्यवसायीले ८ वर्ष पुग्न लाग्दा समेत एक क्वाक पनि लगाएको छैन् । दर्पुक दैलातु· क्षेत्रमा सन्तोषी प्यासिफिक/नेपाल प्रगती जेभीले २०७३ फागुन ३० गते सम्पूर्ण काम सक्ने गरी ७ करोड ५० लाखमा २०७० चैत्र ५ गते ठेक्का पाएको थियो ।

ठेक्का सम्झौता भएपछि कालिगण्डकी करिडोरमा ४ जना कार्यालय प्रमुख परिवर्तन भए । तर काम हुन सकेनन् । पछिल्लो पटक निर्माण व्यवसायीले कोभिडको कारण देखाई २०७७ मंसिर २८ गतेसम्म थप म्याद पाएपनि अहिलेसम्म काम भएको देखिदैन । निर्माण व्यवसायीले कार्यालय प्रमुखसँग मिलेर सजिलो क्षेत्रमा काम गरी भुक्तानी लिएका छन् भने अफ्ठेरो क्षेत्रमा काम छोडी भागेका छन् । दैलातु·देखि रानीघाटसम्मको ट्रयाक समेत लथालिङ्ग अवस्थामा पुगेको छ । खनिएको ट्रयाक समेत बाढी पहिरोले पुरिएर पुरानै अवस्थामा पु¥याएको छ । दैलातु· रानीघाट खण्डको सडकमा समेत अझै सडकको ट्रयाक खोलिएको छैन । हिमढुङ्ग एण्ड ठोकर कन्ट्रक्सनले ८५ लाखमा २०७२ साल असार २९ गते सम्पूर्ण काम सक्ने गरी २०७० साल जेठ ५ गते सडक खोल्ने सम्झौता गरेको थियो । कार्यालय प्रमुखको वेवास्ता र निर्माण व्यवसायीको लापरवाहीका कारण ट्रयाक नखोलिँदा जनप्रतिनिधिदेखि स्थानीयवासीहरु आक्रोशित भएका छन् । सजिलो खण्डमा अलि–अलि काम गरी बिल भुक्तानी लिएर निर्माण व्यवसायी भागेको बगनासकाली गाउँपालिका ६ का डोलराज अधिकारीले बताए । बाटोको लागि भनेर घर खेत गुमाएयौं तर नत बाटो पुरा भयो नत खेत बारी नै रÞयो यस्ता निर्माण व्यवसायीहरुलाई सरकारले कारवाही गर्नुपर्ने अधिकारीले बताए । उपभोक्ता अधिकारीले अहिले ठेकेदारबाट बाटोको ट्रयाक नखुल्ने भएकाले नेपाली सेनालाई जिम्मा दिनुपर्ने माग गरेका छन् । कालिगण्डकी करिडोरका ठेकेदारलाई स्थानीय तहले चलाउन नसक्ने अवस्था रहेछ, रानीमहल क्षेत्रको बाटो अलपत्र पारेको वर्षौ हुँदा समेत ठेकेदार फर्केर नआएको तानसेन नगरपालिका १३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराईले बताए ।

यस सडकमा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका जनता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । तानसेन १४ अर्गली, १३ बौघागुम्हा र बगनासकालीको ७ खानीगाउँ, ६ यम्घाका जनता करिडोर सञ्चालन नहुँदा वर्षौदेखि दुःख पाएका छन् । ट्रयाक नखुल्दा बगनासकालीमा उत्पादित कृषिजन्य उत्पादन नोक्सान भएको र पशुपालन क्षेत्रमा प्रत्यक्ष असर पुगेको पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । ट्रयाक सञ्चालनको लागि ४ वर्षदेखि धाएका छौ तर कहि कतैबाट सुनुवाई नभएको अध्यक्ष बस्यालले बताए । केन्द्रिय सरकारको गौरवको आयोजना भएकाले पालिकाको क्षेत्राधिकार भन्दा बाहिर हुँदा पालिकाले काम गर्न नमिलेको अध्यक्ष बस्यालले भनाइ छ । ट्रयाक नखुल्दा गाउँपालिकाको करोडौ राजश्व गुमिरहेको उनले बताए । ट्रयाक खुल्ने वित्तिकै गुल्मीबाट पोखरा जाने सवारी साधन रिडी–राम्दी हुँदै सञ्चालन हुने, पूर्व नारायणघाट जाने सवारी साधन समेत कालिगण्डकी करिडोर भएर सञ्चालन हुने अध्यक्ष बस्यालले बताए । बाटो बन्ने आशामा गाउँमा जनताले खेतियोग्य जमिन मासेर बाटो खन्न दिए तर ८ वर्ष हुँदासम्म नत बाटो बन्यो नत जनताका खेतबारी रहे । काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर अन्य पक्षलाई कामको जिम्मेवारी दिनुपर्ने अध्यक्ष बस्यालले बताए ।

सजिलो क्षेत्र निर्माण व्यवसायीले लापरवाही तरिकारले माटो कटान गर्दा वडा ६ को २ सय रोपनी खेतीयोग्य जमिन ४ वर्षदेखि बाँझोमा परिणत भएको अध्यक्ष बस्यालको भनाई छ । आउँदो बैशाखभित्र ट्रयाक खोल्ने काम नभएमा पालिकाको नेतृत्वमै जनताहरु आन्दोलनमा उत्रिने अध्यक्ष बस्यालले चेतावनी दिएका छन् । डेढ वर्ष अगाडि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ठेक्का लिएर काम नगर्ने मनसाय राखेका निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने रानीमहल दरबारको अवलोकनमा प्रतिवद्धता जनाए पनि न कारवाही भयो न सडकको ट्रयाक खुल्यो । २ वर्षदेखि निर्माण व्यवसायीहरु काम गर्ने स्थानमा पुगेका छैनन् । सडक बन्ने भयो भन्ने खुसीले खेतीयोग्य जमिनमा डोजर चलाएका स्थानीय सबै भन्दा बढी मारमा परेका छन् । कालीगण्डकी करिडोरको पूर्वी नवलपरासीको गैडाकोटदेखि मुस्ताङको कोरला नाका ४ सय ३२ किलोमिटर दुरी रहेको छ । जसमा मुस्ताङको कोरलादेखि जोमसोङसम्म १ सय ५, जोमसोङदेखि म्याग्दी बेनीसम्म ८२ किलोमिटर, म्याग्दीको बेनी बागलुङ खण्ड ३६ किलोमिटर, गुल्मी खण्ड ४४ किलोमिटर, पाल्पा खण्ड ८५ किलोमिटर र पूर्वी नवलपरासी खण्ड ८० किलोमिटर रहेको छ । यो करिडोर पूर्ण रुपमा सञ्चालनमा आएपछि पूर्वी नवलपरासी, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी मुस्ताङ, तनहँु, स्याङ्जा, पर्वतका कालिगण्डकी सेरोफेरोका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update