Shittalpati
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’

पाल्पा,नेपाल पत्रकार महासंघले जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्दै संसद र संविधानको परिधिमा रहेर सरकार  बनाउन पहल गर्नुपर्ने ठहर गरेको छ ।  महासंघले बिहीबार जिल्ला अध्यक्ष  कमलराज तिमिल्सेना र सचिव रामचन्द्र रायमाझीद्वारा हस्ताक्षरित एक अपिल सार्वजनिक गर्दै संसद र संविधानकै परिधिमा रहेर सरकार गठन लगायतका प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो ।

जेन–जी पुस्ताका मागहरूलाई समेट्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको ठहर गर्दै महासंघले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास दिई लोकतन्त्रको अभ्यासलाई सुनिश्चित गराउन सबै पक्षलाई अपिल गरेको छ  ।

महासंघले देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमनलाई निन्दनीय भनेको छ ।  आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासंघ दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासंघले चिन्ता प्रकट गरेको छ ।  महासंघले तत्काल अहिलेको सङ्क्रमणकालीन अवस्थाको  अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने जनाएको छ । ‘मूलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्दछ भन्ने महासङ्घको ठहर छ’, अपिलमा भनिएको छ । 

महासंघले प्रधानमन्त्रीले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकाले मुलुक संक्रमणकालीन अवस्थामा पुगेको  बताएको छ । देशमा व्याप्त भष्ट्राचार र बेथितिका विरूद्ध उठेको जेन–जी आन्दोलनका क्रममा भएको सरकारी दमनबाट ३४ जनाको ज्यान गइसकेको छ, सयौँ नागरिक घाइते भएको भन्दै महासंघले ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ  ।

साथै आन्दोलनको समाचार संकलन गर्न गएका ४ जना पत्रकारहरू घाइते भएका र धेरै मिडिया हाउस जलाइएकाले अहिले देशैभरी पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको महासंघले जनाएको छ । ‘जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरू र मिडियालाई अहिले पनि आन्दोलनको निशाना बनाइएको छ । यो दुःखद र आपत्तिजनक विषय हो । राज्यले आन्दोलनका क्रममा क्षति पु¥याइएका मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्छ । साथै राज्य र आन्दोलनकारीलाई प्रेसमाथि निशाना नबनाउन र यसमा कुनै घुसपैठ भएको भए सो सम्बन्धमा ख्याल राखी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन महासंघ हार्दिक अपिल गर्दछ’ अपिलमा भनिएको छ । पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकालाई महासङ्घले सराहनीय भनेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update