Shittalpati
नेवारी संस्कृति : नेवार समुदाय र संस्कार

सगुन (सगँ) नेपाल भाषा :
संसारमा रहेका हरेक जातजातिका आ—आफना रीतिरिवाज, चाल चलन, आफ्नै संस्कृति, तथा परम्पराहरु हुन्छन् र सबैको आफ्नै महत्व र विशेषता पनि । कतिपय परम्पराहरु अलि कस्तो–कस्तो लाग्ने खालका पनि हुन्छन् तर ति सबैमा आफ्नै प्रकारको तार्किकता हुन्छन् । कतिपय वैज्ञानिकतामा आधारित पनि हुन्छन् । नेवार समुदायमा यस्ता परम्पराहरु प्रशस्त मात्रामा पाइन्छन् किनकी नेवार समुदाय अन्य समुदाय भन्दा बढी चाडपर्वहरु मनाउँछन् भन्दा अत्युक्ति नहोला । यस्तै परम्पराहरु मध्ये एक हो सगुन अर्थात सगँ (नेपाल भाषामा) ।

कसै–कसैले सगुनलाई सौकँ भन्ने पनि गर्दछन् । यो अपभ्रमित शब्द हो । सगुन (सँग) जन्मदिनमा, विवाहमा, ज्येष्ठ नागरिको जँकोमा साथ–साथै मह पूजामा र कोही बाहिर लामो यात्राको लागि जान लागेको छ भने वा फर्केको छ भने वा कोही ठूलो दुर्घटनाबाट बचेर आएको छ भने उसले पुनर्जन्म पाएको भनि र कुनै शुभकार्यको थालनी गर्न लागेको वा सम्पन्न भएको सन्दर्भमा दिइन्छ । यो एक प्रकारको आर्शिवाद वा स्यावासी हो सम्मान हो । त्यस्तै गरी मातातिर्थ औंसी, कुशे औंसी, भाई पूजामा दिदीबहिनीको हातबाट दाईभाईलाई दिने चलन छ । यो प्रचलन हिन्दू तथा बौद्ध नेवार समुदाय दुबैले मान्दछन् । सगुन दिंदा अण्डा सगुन जसलाई (ख्येँ सगँ) वा दही सगुन (धौ सगँ) दिने गरिन्छ । ख्येँ सगँमा उसिनेर र पकाइएको सिँगै अण्डा, माछा, मासु, वाः तथा रक्सी दिने गरिन्छ ।
अण्डा सगुन (ख्येँ सगँ) :
सगुन दिनु भन्दा अगाडि घरकी जेष्ठ महिलाले सुकुन्दालाई एउटा पातमा राखी भगवान श्री गणेशको पूजा गर्दछन् । भगवान को पूजा पछि सगुन दिइने व्यक्तिलाई रातो अविर मुछिएको चामलको टिका निधारमा लगाई दिन्छिन् । निधारको बगलमा पुरुष भए दाँयातिर र महिला भए बायाँतिर दही लगाई दिन्छन् । त्यसपछि एउटा हातमा अण्डा, सिंगै तारेको माछा, सानो टुक्रा मासु, सानो टुक्रा अदुवा, कसैले अदुवा संग लसुन पनि, योमरी (मास वा मुंगको रोटी) र अर्को हातमा सानो वटुकोमा रक्सी दिने गर्दछिन् । सगँ लिनेले सगुन दिने महिलालाई ढोगेर आर्शिवाद लिनु पर्दछ र सगुन सबै खानुपर्दछ ।

रक्सी तीन पटक सम्म अलि–अलि थपि दिने चलन पनि छ । यो सबै तान्त्रिक विधिमा आधारित छ भनिन्छ । काठमाण्डौँ उपत्यकामा गरिने सगुनको कार्य र उपत्यका बाहिर गरिने सगुन कार्य केही फरक छन् । बाहिरतिर मासु र योमरी राखिदैन तर अरु सबै दिइन्छ । यो आ—आफ्नो तरिका हो । सगुन किन मनाइन्छ भन्ने विषयमा थाहा पाउनु जरुरी हुन्छ । तान्त्रिक मत अनुसार मानव शरीर पञ्चतत्वबाट बनेको हुन्छ । पृथ्वी, जल, ताप, वायु, तथा आकाश पञ्चतत्व हुन । मानव शरीर मृत्यु भएपछि मासु हडडी जलाउने गरिन्छ जुन खरानी हुन्छ भने जमिनमा गाडे माटो नै हुन्छ । त्यसैले यसलाई पृथ्वीको रुप मानिन्छ । रगत, पसिना आदि रसिलो पदार्थलाई जल तत्व मानिन्छ ।

शरीरको तातो भागलाई ताप तत्व र हवा श्वासलाई वायु तत्वको रुपमा र शरीर भित्रको खाली भागलाई आकाश तत्वको रुपमा लिइन्छ । यसरी पञ्चतत्वबाट बनेको मानव शरीरमा कुनै चिजको कमी भयो भने मानव शरीर विभिन्न रोग व्याधीबाट ग्रस्त हुन सक्दछ । त्यसैले पनि यी तत्वहरुको उचित संयोजन भइरहनु पर्दछ भनिन्छ । पञ्चतत्वलाई यसरी पनि वर्णन गरिएको पाइन्छ । अण्डालाई आकाश तत्व मानिन्छ किनकी अण्डा पंक्षीले दिन्छ पंक्षी आकाशमा उड्छ त्यसैले अण्डालाई आकाश तत्व मानिएको हो । त्यस्तैगरी माछा पानीमा हुन्छ त्यसैले माछालाई जल तत्व मानिन्छ । मासु जमिनमा विचरण गर्ने प्राणीबाट प्राप्त हुने भएकाले यो पृथ्वी तत्व मानिन्छ ।

त्यस्तै अदुवा, रक्सीले शरीरमा ताप बढाउँछ त्यसैले यसलाई ताप तत्व मानिन्छ र योमरी वायुमा फल्ने मास मुँगीबाट बनाइने भएकाले यसलाई वायु तत्व मानिन्छ । यसरी विभिन्न पाँच तत्वरुपी सगुन ख्येँ सगँ खाँदा शरीरलाई आवश्यक पञ्चतत्व सबै प्राप्त भई शरीरमा भएका विकार सबै हटेर जाने फूर्तिलो हुने विश्वास गरिन्छ । त्यसैले यी सबै खाने व्यक्ति जहाँ गए पनि विजय प्राप्त गरोस्, रक्षा गरोस भनेर आर्शिवाद दिएको भनिन्छ । अझ रक्सी खाए शरीरलाइ केही नहोस् भनिन्छ । हुनत अदुवा र योमरिलाई शाकाहारी मानिन्छ भने मासु र माछालाई मांसाहारी तथा अण्डालाई शाकाहारी/मांसाहारी नछुटिएको परिकार भनिन्छ । खाएमा जस्तो सुकै पदार्थलाई पनि शरीरले पचाउन सक्दछ भनिन्छ । तान्त्रिक अवधारणामा अण्डा सगुन शाक्त धर्ममा र दही सगुन वैष्णव धर्ममा आधारित भएको मानिन्छ ।
दही सगुन (धौ सगँ) :
माछा, मासु, अण्डा नखाने व्यक्तिलाई दही सगुन (धौ सगँ) दिने चलन पनि नेवारी समाजमा रहेको छ । यो सगुन दिँदा पनि अण्डा सगुनमा गरे जस्तै भगवान श्री गणेशको पूजा गर्ने गरिन्छ । त्यसपछि रातो टिका लगाई एउटा कटौरामा अलिकति दही, नयाँ कपडा, एउटा सिंगो सुपारी, तथा पैसा राखीदिने गरिन्छ । हुनत यो चलन पनि काठमांडौ उपत्यका र उपत्यका बाहिर फरक नै छ । बाहिर यसरी सगुन दिँदा कपडा, सुपारी दिइदैन केवल दही, पैसा दिने गरिन्छ ।

सगुन लिईसके पछि सगुन दिने मान्यवरलाई ढोगेर आर्शिवाद थाप्छन् । नेवारी समुदायमा मह पूजालाई नेपाल सवंत शुरुवात भएको पहिलो दिन मानिन्छ । त्यसैले यस दिनदेखि नयाँ आर्थिक वर्ष पनि शुरु हुने र नयाँ कामको पनि थालनी हुने हुँदा सो वर्ष सफलताका साथ सञ्चालन होस् भनेर घर मूलिले परिवारका सबै सदस्यहरुलाई अण्डा (ख्येँ) र दही (धौ) सगुन दिने प्रचलन पनि रहेको छ । कानमा फूल सिउरिने चलन विभिन्न चाडपर्व आदिमा कानमा फूल सिउरिने चलन पनि नेवारी समाजमा त्यति कै छ । तर किन कानमा फूल सिउरिन्छन् त के सम्बन्ध छ फूल र नेवारबीच भन्ने प्रश्न उठनु स्वभाविक मानिन्छ । हुन त अरु समुदायमा पनि कानमा फूल सिउरिन्छ तापनि नेवारहरुले भगवानको पूजाआजा पछि, विभिन्न चाडपर्वहरुमा, समारोहमा, आमाबुबा प्रति अगाढ स्नेह, माया तथा सम्मान भएको देखाउन कानमा फूल सिउरेको भनिन्छ । यसरी फूल सिउरिँदा टोपी मुनि, निधार माथी, दाहिने कानमा, बाँया कानमा सिउरिने गर्दछन ।

टोपी माथि, मुनि र निधार माथि घुसारिएको फूलले भगवानप्रति भक्तिभाव भएको तथा सम्मान गरिएको भनिन्छ । दाँयातिर कानमा घुसारिएको फूलले पितालाई सम्मान गरिएको भनिन्छ भने बाँयातिर कानमा घुसारिएको फूलले आमालाई सम्मान गरिएको भनिन्छ । कसैले टाउको पछाडी टोपीको घेराले च्यापेर फूल राखेको हुन्छ यसको अर्थ हो आफ्नो कर्तव्यबोध गर्न र आफ्नै सम्झनामा गरिएको भनिन्छ । यसरी कानमा फूल सिउरेर भगवानप्रति, बाबुआमाप्रति भक्तिभाव राखी सम्मान गरिएको नेपाली संस्कृतिको एक अभिन्न कार्य मानिन्छ । अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update