Shittalpati
सोंचे भन्दा फरक कोरोना

पहिलो पटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो । सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो । त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो । जब इटालीमा कोरोनाले ठूलो मानवीय क्षति व्यहोर्‍यो, त्यसपछि नेपालीमा थप त्रास सिर्जना भयो । सो समयमा चीनबाट फर्केका भन्ने बित्तिकै जो कोहीप्रति कोरोनाको शंका गर्ने र विस्तारै दूरी बढाउने र तिरस्कार गर्ने जस्ता काम भए । त्यो बेला नेपालमा कोरोनाको थप संक्रमित नभए अन्य देशहरूमा कोरोनाको भयावह स्थिति हुँदै जाँदा नेपालमा पनि त्रास बढ्यो । कोरोनाको दोस्रो केस देखिने बित्तिकै लकडाउन सुरू भयो ।

लकडाउन चार महिना निरन्तरता चल्यो । यो बीच खासै कोरोनाको केस देखिएन । मानिसहरूमा एक प्रकारको राहत महशुस भयो । तर अप्रत्याशित रूपमा भारतबाट आउनेहरूको चाप र उनीहरूमा गरिएको परीक्षणले कोरोना संक्रमित देखिन सुरू भयो । उनीहरू संक्रमित भएपनि अधिकांशमा लक्षण थिएन । यो विश्वको लागि नै अलि फरक प्रकृतिको कोरोना थियो । यी लक्षण विहीन संक्रमितहरूबाट कोरोना भनेको खासै डराउनु नपर्ने रहेछ भन्ने सन्देश जान थाल्यो । संक्रमितहरू अधिकांशमा लक्षणहरू नदेखिनु, मानवीय क्षति नगन्य देखिनु, नाँचगान गर्दै आइसोलेशनबाट संक्रमितहरू डिस्चार्ज भएको दृश्यले संक्रमितहरू स्वयं र नागरिकहरूमा कोरोना खासै सोंचेजस्ता डरलाग्दो होइन रहेछ भन्ने सन्देश जानु स्वाभाविक नै हो । तर अचानक लकडाउन खोलिँदा मानिसहरू जनस्वास्थका मापदण्डको वास्ता नगरी बाहिर हुलमुलमा जान थाले । जसले गर्दा कोरोनाको जोखिम बढ्दै गयो । जोखिम बढ्दै गएपछि सरकारले निषेधाज्ञा गरे पनि संक्रमण समुदायमा फैलन निषेध गर्न सकेको देखिएन । घना जनसंख्या भएका सहबजारका साथै पातला बस्ती भएका गाउँहरूतिर पनि संक्रमण फैलिसकेको सन्देश झन् झन् पुष्टि हुँदैछ । अहिले त कतै यात्रा नगरेका र अरू यात्रुसँग संसर्ग पनि नभएका संक्रमित भेटिन थालेका छन् । यसले कोरोना मानिसले सोंचेभन्दा फरक रहेछ भन्ने अनुभूति हुन थालेको छ । संक्रमित हुँदैमा आत्तिनुपर्ने भने होइन । तर, बेवास्था गर्नु पनि हुँदैन । तसर्थ आफु आफै सर्तक हुन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update