Shittalpati
बीपीका आँखामा तरुणका लक्षण

भाद्र २४ गते जननायक बीपी कोइरालाको जन्म दिन हो । तर, आजका दिनमा नेपाली कांग्रेस र समर्थकहरूले मात्र कार्यक्रमहरूका साथ ती विचारका महानायकको स्मरण गरिरहेका हुन्छन् । विचार आन्दोलनका अभियान्ता, परिवर्तनका नायक साझा हुनुपर्ने हो । सहिद साझा हुनुपर्ने हो । केही अपवाद बाहेक सहिदलाई अमूक पार्टी विशेषका नाममा व्यवहार गरिन्छ । कमसेकम २०४६ साल पहिलेका र आपसी विवादमा नपरेकाहरू जो सत्ताको क्रुरूर दमनका शिकार भए उनीहरूलाई सामूहिक सहिद किन नमान्ने ? मेरो जीवित निरन्तरको प्रश्न हो यो । लीला, ठगी, महेश, केशव, गोकर्ण, खगेन्द्र, पेशल, क्या. यज्ञबहादुर आदि के कांग्रेसका मात्रै सहिद हुन् त ? भीमनारायण श्रेष्ठ वा दुर्गानन्द झा के कांग्रेसमात्रै हुन् त ? स्थीरबम मल्ल, तेजबहादुर अमात्य, श्रीप्रसाद पराजुली, पूर्णबहादुर राई जस्ता अनेक सपूतहरूलाई कांग्रेसमात्रै मान्ने त ? उनीहरूको योगदान कांग्रेसका मानिसहरूका लागि मात्रै हो त ? अथवा रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन् राजवंशी, रत्न वान्तवा, ऋषि देवकोटाहरूलाई नेपाल कम्युनिष्ट पार्टी एमालेका मात्रै मान्ने हो त ? के उनीहरू जनताका लागि मरेका होइनन् ? विचार आन्दोलनका महानायक बीपी कोइरालाले कांग्रेसका लागि मात्रै केही गरिरहनु भएको थियो ? के पुष्पलाल कम्युनिष्ट पार्टीका मात्र हुन् त ? कुनै नेताले नेतृत्व गर्दा कुनै पार्टीमा बसेर गरे होलान् । पार्टी त खालि लक्ष्य पूरा गर्ने निर्जीव औजारमात्र हो । पार्टीसँग स्वयंमा कुनै जीवन हुँदैन । संयन्त्र वा औजार त प्रयोगमात्र गरिने हो । कुनै काठ काट्ने खुकुरी त प्रयोग गरुन्जेलमात्र हो । त्यो आफैं चलायमान हुँदैन, त्यसलाई सञ्चालन गर्ने कोही न कोही जीवन हुनेछ । यसै कारण कुनै औजार प्रयोग गरेकै भरमा त्यस औजारको मात्र नायक वा स्वामी मान्नु मेरा दृष्टिमा अन्याय हुनेछ । नेपाली समाज यसै अर्थमा महानायकहरूप्रति अन्याय गरिरहेको छ । विचारका नायकहरू, परिवर्तनका नायकहरू साझा मानिनुपर्छ । सरकार सकारात्मक भएका खण्डमा साझा बनाउने बाटो खुल्छ । सरकार सक्रिय भएन भने राजनीतिक दलहरू आफैंले यो अभ्यास गर्नुपर्छ । कमसेकम बीपी जयन्तीमा कम्युनिष्ट पार्टी वा अरू पार्टीले पनि उहाँका योगदानको बहस पैरवी गर्ने र पुष्पलालाका जन्मदिनमा उहाँका विचारबारे नेपाली कांग्रेस वा अरूले पनि बहस गर्ने परम्परा बसालौं भन्ने मेरो आग्रह छ ।

नेपाली समाजमा परिवर्तन ल्याउने नायकहरूप्रति नै तीव्र विकर्षण, विरोध, अवज्ञा हुने गरेको छ । यसलाई चिन्ताको विषय मान्नुपर्ने हुन्छ । राजनीतिक वृत्तमा अहिले नयाँ पुस्ता, युवा पुस्ताको बहस खुब सुनिन्छ । निश्चय पनि यो नराम्रो कुरा होइन । संसारमा सम्पन्न प्रत्येक क्रान्तिकारी परिवर्तनहरूको आरम्भ नयाँ पुस्ताबाट नै भएको छ । पृथ्वीनारायण शाहले बीस वर्षमै नेपाल निर्माणको सपना देख्नुभएको थियो । बीपी कोइरालाले अठ्ठाइस वर्षमै नेपालमा राजनीतिक परिवर्तनको खोजी गर्नुभएको थियो । गणेशमान सिंह त पच्चीस वर्ष नपुग्दै परिवर्तनको महायज्ञमा होमिनु भएको थियो ।

महात्मा गान्धी हुन् कि नेल्सन् मण्डेला हुन् सबैले युवा वयमै परिवर्तनको सपना देख्नुभएको थियो । नेहरू वा यासेर अराफतको इतिहास पनि युवा वयबाटै सुरु हुन्छ । तर, यसो भन्दाभन्दै पनि परिवर्तनलाई समाल्न, त्यसलाई संस्थागत गर्न कमसेकम परिपक्वता आवश्यक हुन्छ । केही थोरै समयका लागि सदा कालका लागि होइन । नेल्सन मण्डेलाले एक पटकमात्र राष्ट्रको नेतृत्व राष्ट्रपतिका रूपमा गर्नुभयो । त्यसपछि उहाँले ठीक त्यसपछिको नेतृत्वलाई पदभार सुम्पिनु भयो । यो प्रमाणित इतिहास हो तर नेपालको सन्दर्भमा नयाँ पुस्ताको बहसको अन्तर्यमा निकै चाँडै शासनमा, शक्तिमा कसरी पुग्ने भन्ने चिन्ता पहिलो कारण देखिन्छ । अनि नेतृत्वको सिँढी अनेक पटक पार गरे पनि सास रहेसम्म शासन, पद र शक्तिको अतृप्त चाहना परिपक्वहरूमा भेटिन्छ । यसै कारण युवाहरूमा पनि महत्वाकांक्षा जागेको छ र अधैर्य हुन लागेको सुनिन्छ । किनकि, शासनमा पुग्ने सजिला उपायहरू के हुन सक्छन् तिनको चासो बढी छ । समयलाई डो¥याउने विचार पनि छैन, व्यवहार पनि छैन र समयको प्रतीक्षा गर्ने धैर्य पनि देखिँदैन । बीपी कोइरालाले देखेको युवा आदर्श र क्रान्तिकारिताले भरिपूर्ण हुनुपर्दछ । आदर्शले भरिपूर्ण भएरमात्र हुँदैन अनुशासित र संगठित समेत हुनु आवश्यक छ । अहिले अरू कुनै राजनीतिक परिवर्तनका लागि संघर्षको नायकत्व गर्नु परेको छैन । राजनीतिक र संवैधानिक परिवर्तनलाई संस्थागत गर्न, लोकतन्त्रको संस्कृति बसाउन, राष्ट्रको अस्मिता र स्वाधीनताको रक्षा गर्न र भौतिक तथा आर्थिक विकासका आधारहरू खडा गर्ने दायित्वमात्र आज छ । कुनै अर्को सपना देखिरहनुपर्ने अवस्था छैन । विचारको अथवा कुनै नयाँ आविष्कार र रचनाको आवश्यकता हुनसक्छ । त्यसका लागि कुनै संघर्ष, आन्दोलन, भाषणवाजी, तँछाड मछाड, कुस्ती, युद्ध केही गरिरहनु पर्दैन । बलको होइन बुद्धि, अनुभव, सहिष्णुता र अनुशासनको आवश्यकता पर्छ । नेपालको वर्तमान राजनीतिक प्रणाली परिवर्तन भएको धेरै भएको छैन । यदि असी वर्षको इतिहास हेर्ने हो भने नेपालमा पहिलो केही वर्ष राणा शासन, दोस्रो कालखण्ड केही वर्ष अन्यौल र संसदीय अभ्यास, तेस्रो समय निर्दलीय पञ्चायत, चौथो चरण राजतन्त्रात्मक बहुदलीय पद्धति र पाँचौं र अन्तिम चरण संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको डेढ दशक हुँदैछ । विगतका परिवर्तनहरूले जनताको मागको सम्बोधन गर्न सकेनन् भनेर नै वर्तमान परिवर्तन भएको हो । यो परिवर्तन युवाहरूको मात्र देन होइन । वृद्ध नायकहरूको सोच, नेतृत्व र अभियानको परिणाम हो । गिरिजाप्रसादका टाउकोमा लाठी बर्सिरहेका समयमा आजका धेरै क्रान्तिकारीहरू, युवाहरू अन्यत्रै कतै केही गरिरहेका भेटिन्थे । हो ती वृद्ध, परिपक्वहरूका पछाडि युवा, बाल, अधबैंसे सबैको सहयोग थियो । बल थप्ने काम भएको थियो । संयमित रूपमा वृद्धहरूले नेतृत्व प्रदान नगरेका भए कस्तो खालको अराजकता हामीले भोग्नुपर्ने थियो भन्न सकिँदैन ।

भाद्र २४ बुधबार विचारका, लोकतान्त्रिक संस्कारका महानायक बीपी कोइरालाको जन्म दिन । उहाँका विचारमा युवा कस्तो हुनुपर्छ ? मलाई यसबारे केही उल्लेख गर्न मन लागिरहेको छ । बीपीका अनुसार लोकतन्त्रमा विश्वास गर्ने तरुणहरूमा चार लक्षण हुनु आवश्यक छ । पहिलो संगठनमा अनुशासन अपरिहार्य हुन्छ । अनुशासनविनाको भीडले विद्रोह गर्न सक्दैन । अराजकताको संवाहकमात्रै हुन्छ भीड । युवाका लागि पहिलो तत्व वा लक्षण अनुशासन नै हो । नेपालमा नयाँ पुस्ताको बहस चलाउँदा नयाँ पुस्ता आफू कति अनुशासित छ ? यो विषय गम्भीर हुनुपर्ने हो । बीपीले युवाको अर्को लक्षणमा उल्लेख गर्नुभएको छ : साथीहरूबीच वफादारी । अर्थात् एकअर्कामा विश्वास र निष्ठा । मित्रहरूमा विश्वास भएन भने कुनै पनि काम सही हुँदैन । अविश्वासकै कारण झगडा, अन्तर्घात, खुट्टा तानातान, गुटउपगुट, असहयोग हुन्छ । एकअर्काले यहीबाट प्रतिशोध, नियन्त्रण, व्यवधान र अवरोधको शृंखला बढाउने काम गर्दछन् । के आजका युवाहरूमा एकअर्काप्रति विश्वास छ ? निष्ठा छ ? को हो त नेता र नायक ? उसका विचार के हुन् ? के उसले सिंगो युवा पंक्तिलाई नेतृत्व दिनसक्छ ? त्यस अनुकूलको आचरण, व्यवहार देखाउन सक्छ ? के उसको सामाजिक छविमा कुनै दाग लागेको छैन ? सबैलाई नेतृत्व दिने सामथ्र्य र योग्यता राख्छ त ? कि भावनामा बहेर केही व्यक्तिको झुण्ड बोकेर नेतृत्वको अहंकार पालेर बसेको छ ? यो पक्षलाई विचार गर्नुपर्ने हुन्छ । बीपीले भन्नुभएको अर्को गुण र लक्षण हो : आदर्शप्रति निष्ठा । आदर्शलाई निजी स्वार्थको भर्‍याङ बनाउन खोज्नु र सही रूपले निष्ठा प्रकट गर्नु फरक कुरा हुन् । अहिले आदर्शप्रतिको निष्ठाभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने बाटो बनाइँदै छ । आदर्श कुनै स्वैरकल्पना होइन । यो आचरणसँग सम्बन्धित हुन्छ । आदर्शप्रतिको निष्ठा आचरण र व्यवहारबाट प्रमाणित हुनुपर्छ । तरुणको अर्को लक्षण हो शारीरिक दुःख खप्ने क्षमता । बीपीले यो गुण क्रान्तिकालका लागि तय गर्नुभएको भए पनि सदाकालका लागि आवश्यक हुन् । आजका कति युवाहरूमा दुःख झेल्ने क्षमता छ ? खास गरी राजनीतिमा लागेका युवाहरूको सोच कस्तो छ ? क्षमता कस्तो छ ? आज राजनीतिको कुनै संगठनमा लाग्नासाथ कताबाट नगद आउँछ, के कर्म अपकर्म गर्दा आफ्नो गुजारा चल्छ वा समृद्धि मिल्न सक्छ, कसरी शक्तिको निकट रहन सकिन्छ अधिकांशमा यो सोच देखिन्छ । तत्काल विगत हेर्ने हो भने अमूक राजनीतिक संगठनमा लाग्ने अधिकांशहरूको आर्थिक क्षमता हृवात्तै बढेको देखिन्छ, उनीहरूमा पद र शक्तिको वृत्तमा प्रभाव आश्चर्यजनक रूपमा देखिन्छ । उसका लागि कुनै श्रेणी वा सिँढी नचढी यस्तो क्षमता हासिल भएको देखिन्छ । मेरो यहीँनेर प्रश्न हो युवा बीपीले देखाउनुभएका गुणहरू अनुरूप हुनुपर्ने किन ? बीपीवादमा विशवास गर्ने र युवा दाबी गर्नेदेखि युवामात्रैको वकालत गर्नेहरू के भन्नुहुन्छ ? केही त भन्नु पर्‍यो नि । साभार : ई हिमालय टाइम्स

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update