Shittalpati
आत्महत्या रोकथाम गरौं

सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोशिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधँै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ । आफैलाई हानीनोक्सानी गर्ने साेंचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था आफैमा दुःखद् छ । यद्यपि यो समस्या विश्वभरी नै व्याप्त छ । नेपाल आत्महत्याको समस्याको हिसाबले हेर्दा समस्याग्रस्त राष्ट्रमा पर्छ । हिजोआज आत्महत्याका जैविक, मनोसामाजिक तत्वहरु हामी कहाँ बचावट गर्ने किसिमले भन्दापनि आत्महत्यातिर दो¥याउने हिसाबले बढ्दै गएको पाइन्छ । यो समस्याले हामीलाई कुनै न कुनै रुपमा सताउन सक्छ । त्यसैले हामी यसबाट सचेत हुन जरुरी छ । हरेक वर्षको सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ । तर दिवस मनाइने गरे पनि नेपालमा आत्महत्याका घटनामा भने कमी आएको छैन ।

आत्महत्याको समस्या एउटा बहुआयामिक समस्या हो । यसमा सामाजिक, साँस्कृतिक, वातावरणीय, व्यक्तिगत, पारिवारीक, आर्थिक लगायत स्वास्थ्य, नैतिकता र आत्महत्या गर्न प्रयोग हुने साधनको सरल पहुँच र नियम कानुनको अवस्था आदिले पनि ठूलो भूमिका खेल्दछन् । आत्महत्यालाई बढवा दिने उदासिन मनोरोग डिप्रेसन सहित नशा सेवन र लत र अरु मानसिक रोगहरुको समयमै पहिचान र उपचार गर्न आवश्यक हुन्छ । आत्महत्याका हिसाबले खतरनाक चिज, स्थान वा कुराप्रति चनाखो दृष्टि, सतर्कता वा आवश्यकता अनुसार बन्देज वा अन्य व्यवस्थापन समाज र राज्यस्तरमा नै हुनुपर्छ । आत्मघाती वा आवेग बढेको बेला यस्ता खतराजनक कुराको पहुँचबाट टाढा भएमा पनि खतराको सम्भावना केहि हदसम्म कम भएर जान सक्छ । समाजमा गैरकानुनी हिसाबले बन्दुक वा यस्तै खतरनाक हतियार आममानिसको पहुँचमा हुँदा धेरै अनपेक्षित घटनाहरु घट्छन् । आत्महत्यालाई कानुनी अपराधको रुपमा हेरेर आवश्यक स्वास्थ्य सेवालाई निरुत्साहित गर्दा समस्या ज्यूँका त्यूँ रहने कुरा अब पनि नेपाली समाजले नबुझ्ने हो भने यो समस्या अरु बढी विकराल बन्ने देखिन्छ । साथमा, आत्महत्याको समस्याले पीडित व्यक्ति, परिवारजनलाई हेर्ने कुण्ठित दृष्टिकोणमा परिवर्तन गर्न पनि उत्तिकै जरुरी हुन्छ । तसर्थ आत्महत्या रोकथामका लागि सबै आ–आफ्नो ठाउँ जुट्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update