Shittalpati
युवाहरूको असन्तुष्टि

गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न लागेका युवा र सुरक्षाकर्मीबीच ललितपुरको पुल्चोकमा भएको भिडन्त सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ । स्वःस्फूर्त रूपमा मच्छिन्द्रनाथको रथ तान्न आइपुगेका युवालाई रोक्न खोज्दा प्रहरी र युवाहरूबीच झडप भयो । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्दै जाँदा सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा तोडेर युवाहरू रथ तान्न आइपुगेका थिए । मच्छिन्द्रनाथको यात्रा उपत्यकाको निकै पुराना पर्व मानिन्छ । तर, कोरोनाका कारण रथ तान्ने विषय ओझेलमा पर्दै आएको थियो । यो जात्रा रोकिनु हुँदैन भन्ने स्थानीयको मागलाई सरकारले सुनेन । भीडभाडसँग जात्रा मनाउनुपर्छ भन्ने पनि स्थानीयको माग थिएन । सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कताका साथ रथ तान्नुपर्छ भन्ने स्थानीयको अडान थियो । तर, रथ तान्न विभिन्न विकल्प पनि सुझाइएका थिए । उनीहरुको मागलाई सम्बोधन नगर्दा नै झडपको स्थिति आएको हो ।

भीडन्तमा प्रहरीले पानीको फोहोरा छोड्दा वृद्ध नागरिक माथि पनि परेका कारण युवा बढी आक्रोशित भए । भीड जतिखेर बिनाकारण ट्राफिक प्रहरीमाथि खनियो । पछिल्लो समय प्रहरीहरु ‘नमस्कार सहितको सेवा’को उचाइसम्म पुगिसकेका छन् । उनीहरुको व्यवहार नागरिक–मैत्री भएको छ, तरपनि यो आक्रमण किन ? यो अत्यन्तै दुःखद् घटना हो । हुन त आक्रोशित युवाहरूको सक्रियतामा भएको विरोध वास्तवमा सरकारी कार्यशैलीप्रतिको विरोध हो, असन्तुष्टिको प्रकटीकरण हो । आर्थिक क्रियाकलाप केही नहुँदा बेरोजगार भएर बस्न बाध्य युवा नै विरोधको अग्रपंक्तिमा आएका देखिन्छन् । यस्तै असन्तोष अहिले काम र माम गुमाएकाहरू प्रायः सबैमा छ । यो घटना पनि विशुद्ध साँस्कृतिक अभियानका कारण मात्र भएको होइन, आर्थिक गतिविधि ठप्प भएर बेरोजगार बनेका युवाहरूको असन्तुष्टि पोखिएको हो । लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले व्यवसाय नै चौपट परिसको छ । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्छ की भन्ने आशामा युवाहरु थिए । लामो समय हुँदा समेत सरकारले बन्दाबन्दी गरेर पेशा व्यवसायलाई बन्द गरिदिने तर कोरोना नियन्त्रणमा प्रभावकारी काम नगर्दा युवाहरु अहिले आक्रोशित भएका हुन । तसर्थ आगामी दिनमा यस्तो अवस्था सिर्जना हुन नदिनका लागि सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update