Shittalpati
बर–पिपलको संरक्षण गरौं

नेपालमा प्रशस्त मात्रमा प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । तर पछिल्लो समय तिनै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु विकासका नाममा विनास हुँदै गएका छन् । नेपालमा हरेक सरकार विकासका नाममा मौलिक र परम्परासँग गासिएका मठमन्दिर, बर–पिपल, चौतारहरु विनाश गर्न नै उद्त देखिन्छन् । मौलिक संस्कृति र परम्परासँग जोडिएका बर–पिपल, पाटी, पौवा र चौतारा विनाश गरिनु एउटा मुख्य चिन्ताको विषय हो । विकास अहिले नेपाली राजनीतिको मुख्य भाष्य बनेको छ । सरकार चलाउने हरेकले प्रत्येक पटक विकास र समृद्धि उच्चारण गर्न थालेका छन् । तर व्यवहारमा हेर्दा भने हामी विकासको पथमा छौं वा विनाशको भन्ने प्रश्न गर्नुपर्ने अवस्था छ । विकासका नाममा भएका अनेक अभ्यासले यस्तो प्रश्न गर्न बाध्य बनाउँछ । सडक बनाउँदा, नहर बनाउँदा वा सहर बसाउँदा हरेक पटक सकेसम्म यी सांस्कृतिक सम्पदाहरुलाई नै विनाश गरिएको छ । विकासका नाममा परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका बर–पिपल मासिने क्रम बढेको छ । यसले मानव जातिको नै अस्तित्व मेटाउने होकी भन्ने चिन्ता समेत बढेको छ ।

गर्मीका बेला शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्न गाउँघरमा लगाइएका बर–पिपल सहितका चौतारीहरू अहिले विकास निर्माणका नाममा धमाधम मासिँदै छन् । यो अत्यन्त दुखको कुरा हो । रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावा जस्ता प्राकृतिक वस्तुहरु मानव जीवनको अस्तित्वसँग जोडिएका छन् । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितिमा पुरा पर्यवरण सन्तुलन नै बिग्रन्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी । हाम्रा पूर्खाहरुले यो कुरालाई निकै गहन र मिहिन ढंगले अनुभूत गरेका थिए । त्यसैले उनीहरुले प्रकृतिलाई पूज्दै आएका थिए । अहिले ति प्राकृतिक वस्तुहरु सबै नासिदै गएका छन् । मानव वस्तीको विकास र सडक निर्माणसँगै यस्ता वस्तुहरुको विनास हुँदै गएको छ । पुर्खाहरुले बर–पिपल जस्ता विरुवाहरुलाई धार्मिक वस्तुका रुपमा प्रयोग गर्दै आए पनि अहिले ती मासिदै जाँदा पुराना पुस्ता चिन्तित हुँदै गएका छन् । पिपलको छहारीमा जुन अक्सिजन मिल्छ, त्यसले आरोग्यवद्र्धक वातावरण निर्माण गर्छ । कुनैपनि कुरालाई धर्मसँग जोडिदिएपछि मान्छेहरु बढी सर्तक र संवेदनशिल हुन्छन् भनेर पनि बोट–बिरुवाको महत्व बुझाउन एवं संरक्षण गर्ने यस्तो विधी अपनाइएको पाइन्छ । रुख–बिरुवा हाम्रो प्राणको अभिन्न स्रोत हो, जसलाई अलग गर्न साथ हाम्रो अस्तित्व नै धरापमा पर्छ । त्यसबाहेक चराचुरुंगी, जीवजन्तु, किराफट्यांग्रा सबैलाई सुरक्षित आश्रय दिने पनि रुख–विरुवा नै हुन् । तसर्थ धार्मिक र सांस्कृतिक पक्षसँग जोडिएका बर–पिपलको सरंक्षणमा सबै लाग्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update