Shittalpati
जीवन :  दुःख र सुखलाई नियाल्दा

दिनेश घिमिरे
नाटक मञ्चन गर्न आएका पात्रका रुप झै हौ हामी यस धर्तिमा । विभिन्न समय, परिस्थिति, मानिस, सम्बन्धका आधारमा भूमिका खेलिरहेका हुन्छौ । कुनै कुराले दुःख अनि त्यही कुराले सुख यहि गोलचक्करमा रहेको मानिसको जीवन नै हो जिन्दगी । आज कति तनाव भएको छ । आज कति टेन्सन परेको छ भन्ने धेरै जनालाई यहाँ पलपल भेट्न सकिन्छ । हामी परिकल्पना गरिरहेका हुन सक्छौ जो सँग आफ्नै गाडी, शहरमा घर, सुन नै सुनले टल्किएका शरीर, बोलीमा आइसो र गइसो भन्नेहरु नै सम्पन्न परिवार र व्यक्ति होलान् भनेर तर कहिले काँही बाहिर आएको घटना समाचार र कुराकानीको आधारमा तिनिहरुमा पनि दुःख छ । सफलता, प्राप्ति, धन, विदेश, जग्गा जमिन, सुन, राम्रो पद, शहरमा घर, गाडी, प्रेम आदि नै खुसी हो, सम्पन्न हो भन्नेहरु धेरै छन् । सुखले ल्याउने खुसी र दुःखले बनाउने दुःखीको व्यक्ति पिच्छे र समय अनुकुल परिभाषा, अनुभव र विश्लेषण फरक–फरक हुन्छ । आफ्नो खुसीको लागि अरुलाई दुःखी बनाउनु स्वार्थ बाहेक केहि हुँदैन । कोही कोही त खुसी प्राप्तिको लागि सदाको लागि गलत क्रियाकलापहरु जस्तै नशालु पर्दाथ सेवन गर्ने र आत्महत्या समेत गरेर अरुलाई दुःखी बनाई रहेका हुन्छन् । यसर्थ मानविय जीवनमा हुने घटना र परी घटनाका विषयमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

बुद्धले बारम्बार भन्छन्, ‘मैले त मात्र बाटो देखाउन सक्छु । आफ्नो यात्रा त आफैले तय गर्नुपर्छ ।’ बुद्धले दुःख र समस्या बुझ्नको लागि घर नै छाडेर ज्ञान प्राप्तिको लागि हिडे अनि पत्ता लगाए यस संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्न सकिन्छ र निवारण गर्ने कुराहरु छन् भनेर । दुःख समाधान पछिको खुसी र खुसी पछि त्यसैले बनाएको दुःखको विश्लेषण गर्न आवश्यक हुन्छ । दुःखमा विरक्तिनी र सुखमा मात्तिनीहरु पनि पछि उल्टो नतिजा पाउँदा झन् कमजोर हुन्छन् । दुःख र पीडा त निरन्तर मानिसको जीवनमा आईपर्ने समस्या हो भने सुख त, ति दुःख र पीडा बिचमा आउने औषधि मात्र हो । प्राप्त तथा भोग गर्नेले मात्र स्वर्गीय वर्णन गर्न सक्छन् । जीवनमा अनगिन्ती अफ्ठ्याराहरु आउछन्, समस्याहरु आउछन् समस्यासँग भाग्ने कि समस्यालाई समाधान गर्ने व्यक्ति पिच्छे, समस्या अनुसार फरक फरक हुन्छ । सबै दुःखलाई समाधान गर्न सकिदैन, जति समाधान गर्न सकिन्छ त्यसैलाई असफलता र आनन्द लिनु पदर्छ, यो त जीवनमा चलिरहने प्रक्रिया हो । बाहिरी वातावरणमा कति कठोर देखिने मानिस अन्तरमन मिल्ने साथीसँग कहिलेकाही कति कमजोर रुपमा अन्तरमनका भावना साटासाट गरेको पाइन्छ । त्यो अन्तरमनका भावनामा कहिले काहि आँशुका मोतिहरु पनि बगेका देखिन्छ भने कोहि भित्रभित्रै कुण्ठित रुपमा जलेका पनि हुन्छन् । सुखद् भविष्यको लागि दुःखद् औषधी नै हो । सिक्काको दुई पाटा झै, दुर्ई भाई झै, नङ र मासु झै हुन् सुख र दुःख । मानिस अरुसँग आफुमा भएको कुरालाई तुलना गरेर खुसी हुने भन्दा आफुलाई कमजोर ठान्नेहरु धेरै भेटिन्छन् । प्रगति र खुसीको लागि कमजोर मानसिकता होइन दृढ संकल्प, मिहिनेत र साहस चाहिन्छ । प्रगतिमा रमाउदै अरुलाई सबल भएकोमा भोज भतेर र अरुलाई तुच्छ ठान्नेहरु जब त्यहि प्रगतिकै एक चक्रमा भएको बाधामा आत्तिएर होसहवास नै गुमाउने, तनाब लिने र रिस पोख्ने गर्दछन् । दम्भ, सोच र अहम भावनाले अन्तत निराशामा पुर्‍याउछ भने शान्त र इमान्दार मानिसले जहिले पनि जीवनमा मिठा –मिठा प्रगति र खुसीका स्वाद भेट्टाउद छन् ।

प्रायः सम्पत्ति र धनका आधारमा सुख दुःखसँग तुलना गर्ने गरिन्छ तर आत्मियताको आधारमा भएका असरले मानिसको जीवनमा धेरै महत्व राख्दछ । एक प्रेमी जोडी बिच भएको सम्वन्ध, बैवाहिक जोडी बिच भएका सम्बन्धले पनि उसको जीवनको बाटो कस्तो जादै छ भन्ने स्वरुप दिन्छ । समस्या, पिर, नैराश्यता, चिन्ता, दुःख, असफताका कारण मानिस मनौवैज्ञानिक रुपमा कमजोर हुँदै जान्छ जसको कारण जीवनभर तितो असर छोड्छ । जीवनको यात्रामा विभिन्न समिक्षण हुन्छ ति सबै छिचोल्दै हिड्नु नै आत्मविश्वास र जीवनको परीक्षामा पास हुनु नै जीवन हो । समस्यालाई अवसरमा जसले परिणत गर्न सक्छ त्यो नै सफलता प्राप्त गर्न सक्छ । त्यसैले अन्तरमनले गरेका कामले जहिले पनि सफलताको शिखर चुम्न सक्छ भने आत्मबल पनि बढाउछ । बिना स्वार्थमा लगाएको मायामा पनि सुमधुर सम्बन्ध र बोलिरहन मन लाग्ने स्वार्थ लुकेको हुन्छ । मान्छेका आवश्यकता र मन अनगिन्ती हुन्छन् एक पछि अर्को मराडिदै आउँछन् तिनलाई व्यवस्थित रुपमा समाधान र व्यवस्थापन गर्ने उसकै हातमा हुन्छ । जहाँ जुन अवस्थामा, जोसगँ सम्वन्धमा छ त्यसलाई सम्मान गर्नु पर्दछ अनि मात्र मन सन्तुष्ट भई खुसी हुन्छन् ।

मानिस अमर र अजम्बरी कोही हुँदैन त्यसैले मृत्यु पछि पनि सम्झना लायक हुने खाले काम गर्नुपर्छ । जिउँदोमा सबैले माया गर्छन्, सम्झन्छन्, नजिक हुन्छन् तर मृत्यु पछि हराएका प्रचलित नामहरु धेरै देखिन्छ त्यसैले जीवन जन्मनु मात्रै होइन जन्मेको लागि सार्थकतामा पुर्‍याउनु पनि हो । पानीको छाल जस्तै हो जीवन, आरोह अवरोहमा पानीको तालमा तैरेको डुंगा झै जीवन चलाउन जान्नु पर्दछ । दुःख र खुसीलाई नजिकबाट नियालेर हेर्दा प्रायः हस्पिटलहरुमा मनिलो र दुःखी अनुहारहरु देख्न पाईन्छ । उनीहरुको दुःखी मनलाई नियालेर हेर्दा संसार नै विरक्त देखिन्छ । दुःखी मनहरु प्रायःजसो नारायण गोपाल र भक्तराज आर्चायका गितहरु सुन्दै आफ्नो मनलाई सम्हाल्नेहरुले मोवाइलमा गीतहरु राखेर र मनमनै गुनगुनाउँदै हिडेको पाइन्छ । दुश्मनसँग बदला लिनु छ भने मुस्कुराउनु र खुसी हुनु पर्दछ ।

समय र आफुलाई तुलना गरेर आफुलाई सर्वक्षेष्ठ बनाउने वा आफुलाई कमजोर बनाउनेहरु यत्रतत्र देख्न पाइन्छ । कति व्यक्ति आफना अन्तरमनमा भएका कुरालाई आफनो घनिष्टलाई सुनाएर तनाव कम गर्ने वा समाधान गर्न सफल हुन्छन् भने कोही अन्तरमनमा गुम्साएर भित्रभित्रै पिल्सिएका हुन्छन् । आफ्नो स्वार्थ पुरा गरेर अरुको मन मार्नु त केबल क्षण भरका लागि खुसी लिने मात्र नै हो । कलि युगमा कमजोर मानसिकताले बिवेक हराएरका तमाम व्यक्ति भेटिन्छन् जसको फलस्वरुप आफुले खनेको खाल्डोमा आफै परेका धेरै उदाहरणहरु छन् । हार त जीवनको मिठो पाठ हो, अरुलाई नजिकबाट बुझ्ने अवसर हो र आफ्नो धरातल पत्ता लगाउने माध्यम पनि हो । बसको चालकले हरेक मोडहरुमा मोड अनुसार दाँया वा बाँया मोड्ने गर्दछ त्यस्तै गरी जिन्दगीलाई पनि सहि तरिकाले मोड्नु आवश्यक हुन्छ । देखावटी र बनावटी साथ त धेरै दिन्छन् बलेको आगो सबैले ताप्छन् त्यसैले सम्हालिएर जीवन चलाउन जान्नु पर्दछ । सर्धैँ मनले खोजेको कहाँ पाइन्छ र हजुर त्यसैले पाएकोलाई नै मनमा राख्नु अति उत्तम हुन्छ । यदि सफलता र खुसी चाहनुहुन्छ भने दुःखको पनि परिकल्पना गर्नसक्नु पदर्छ अनि मात्र समस्याहरु समाधान गरिरहने हिम्मत र साहस बढछ । हरेक मान्छेसँग आफ्नै शक्ति हुन्छ त्यसलाई चिन्न सकेमा मात्र उसले प्रगति गर्न सक्छ । संघर्ष, दुःख र सफलताले जीवनलाई सुन्दर र मूल्यवान बनाउँदछ । जीवनलाई मात्तिन नदिने भनेको दुःखबाट पाएका पाठहरुले हो । हरेक सफलताको पछि उसको त्याग बलिदान समर्पण लुकेको हुन्छ । मानिसको सफलता र सुखीको राज भनेको नै उसको मानसिकता, विचार, व्यवहार र कर्म हो । केही समय दुःखले चिन्तित बनाउन सक्ला तर निरन्तर काम प्रतिको लगनशीलताले सफलता हात पार्दछ । अनि बल्ल पसिनाको गन्ध पनि सुगन्धमा परिणत हुन्छ । अगाडि बढनका लागि केहि समय सर्घष, परिश्रम, गर्नुपर्दछ र परिस्थितिको सामना गर्नुपर्दछ । अरुको खुट्टा तान्दै आफ्नो गन्तव्य सुमधुर बनाउनेहरुले सधै नकारात्मक भावना मनमा राखेर धेरै जसोले समय दुःखमा बिताउछन् । तपाईले गरेको कर्मले कति खुसी पाउने कति दुःखी हुने भन्ने निर्कोल गर्दछ । सुखको हकदार पनि तपाई हो दुःखको पनि तपाई हो त्यसैले आत्तिने र मात्तिने नगरी जे छ जस्तो परिस्थिति छ त्यसैलाई मनशुस गर्दै जीवन अगाडि बढाउनु नै सफलता पाउदै खुसी हुनु हो । त्यसैले आफुलाई चिन्नुहोस् अनि सुखद् भविष्यतिर लम्कनुहोस् । (लेखक पछौटेपन उन्मूलन समाज (बेस) नेपालका फिल्ड कोडिनेटर समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update