Shittalpati
तिज गीत र साँस्कृतिक असर

सविता मल्ल

भाद्र महिनाको शुक्ल पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तिजको आफ्नै सामाजिक, साँस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन । हिन्दूहरुको दर्जनौं चाडपर्वमा सम्भवतः सबैभन्दा धेरै दिन रमाइलो गर्ने परिवारबाट फराकिलो बनेर संघ, संस्था एवम् समाजमा समेत राम्रो सद्भाव फैलाउन सक्ने चेली र माइतीको सम्बन्ध गाँसिएको चाड तिज नै हो । तिज विशेष गरी चेलीहरु माइत जाने, दरखाने, पतिको लागि व्रत बस्ने, नयाँ रातो लुगा लगाउने, गहना लगाउनेसँग बढी चर्चामा आउँछ । तिजको सम्बन्ध तिजको गीतसँग अझ बढी छ । तिजको गीतमा आफ्नै शव्द, लय तथा नाँच रहेको छ । तिज गीतका शब्दहरुमा भगवानको बारेमा, चेलीको गुनासो र चिन्ताको, लुगागहना, श्रृगार, सुन्दरता, माइती पट्टीको माया एवम् घरको जिम्मेवारी, पति प्रतिको माया, चेलीको इच्छा, आकांक्षालाई गीतको सरल शब्दमा लयहालेर गाइन्छ र नाचिन्छ । विस्तारै राजनीतिक आस्था, घटना, गुनासो, आदिमा पनि तिजका शब्द बन्यो, कलाकारकै कारणले वर्षेनी तिजको चर्चा र महत्व बढ्दै गएको छ । धेरैजसो गीत साह्रै राम्रा छन् तर केही गीत भने साह्रै चित्त नबुझ्दो एवम् महिलाको महानचाडमा महिलालाई नै अपमानित गर्ने खालका रहेका छन् । जसमा पशुपति शर्माको ‘मेरो बुढा युकेमा टन्न पैसा खान्छ, आओ साथी पार्टी गरम मेरो के नै जान्छ, बेला भयो, पजेरो गुडाउने, पोई कमाउने स्वास्नीले उडाउने’, ‘कार किनेर ल्याउ बुढा मोटरसाइकल झ्याउ’ । श्रीदेवी सापकोटाको ‘वानपिस लाको देखे, विच बाटोमा खोलीदिन्छु ।’ दामोदर भण्डारीको ‘चाइनिज लुगा’ । रमिता न्यौपानेको ‘पंखा चलाइदेउ’ ।

नवराज पाण्डेको शब्दमा “तेरी स्वास्नी पोइला गई’ । राधिका हमालको ‘मेरी सानी साह्रै गुणी, माया चाहिए माया दिन्छिन, पैसा चाहिए पैसा’ ‘घरमा बुढी बाहिर तरुनी, सँगै राख्दा दुईटीको झगडा लौन म कसो गरुनी’ । खुमन अधिकारीको ‘माछो माछो भ्यागुतो गराई मलाई’ ‘अफिस जान्छु घरमा आउँछु आफैं पर्छु भान्से, मोवाइलको चार्ज सकेर बल्ल भात खान्छे’ । कञ्चन अधिकारीको ‘कतिले भन्छ अरे, कति केटा फेरी, भन्छन् रे मयुर दाईले भूपु गल्फ्रेण्ड मेरी’ । सन्तोष केसीको ‘जगल्टाले दुःखपाको होला, तेरो डंकीनी जस्ले सिन्को भाँच्दैन उही सन्किनी” । ‘जता राख तिम्री आमाम सक्दिन है ।’ विपना मगर र टीका देवी शाहको ‘के कस्तो छ, थाहा छैन तिमीलाई घरमा बसी खाको छौ ऋण लगाई’ । रेशम सापकोटाको ‘आईमाईलाई चिठ्ठा हो रे साउदी कतार ।’ ‘म त हाकिमनी हाकीम मेरो पोइ, अब घरमा नोकर खोई ।’ ‘तेरो हो कि मेरो पोइ आइज हेरम ओइ ।’ शर्मिला रायमाझीको ‘छेउमा परे गोजीभित्र छिराई हाल्छे हात, करोडबाट रोडमा ल्याउने यही आईमाईको जात ।’ यस्ता केही गीतहरुका शब्दले महिलाको महानपर्वमा महिलाको इज्जत अस्तित्व कस्तो देखाउन खोजेको हो ? गीतको मौलिकतासँग महिला खुसी हुने रमाउने, गीतमा गीतकै शब्दले महिलालाई चरित्रहिन, झुटी, गैरजिम्मेवार, परनिर्भर, कामचोर, विवेकहिन, बुद्धिहिन, पापीनी, अत्याचारी, निष्ठुरी, चोरनी, अबुझी, अज्ञानी, खराब, दुष्ट, झगडालु, खर्चालु, जस्तो देखाइतिजको गीतमा महिलालाई नै यति धेरै अपमान किन ?कुनै गीत त परिवारसँग बसेर हेर्न नसक्ने छन् । कुनै गीत तिजको संस्कृति विरुद्ध छन् । जस्तै : ‘दरसँग रक्सी खाइन्छ रे ।’ समिक्षा अधिकारीको ‘आमाको काख गीतमा ।’ छोरीलाई झुण्ड्याएर हत्या, आत्महत्या गरेको देखाइएको छ ।

टुहुरी गीतमा एक महिलाले आत्महत्या गरेको देखाइएको छ । प्रकाश सपुतको गीतमा किशोरी भूत बनेर बदलालिएको देखाइएको छ । आफ्नै मौलिक संस्कृति बोकेको महानपर्व तिजको शब्दमा महिलालाई हदभन्दा बढी अपमानित शब्द प्रयोग गरिएको छ । त्यो भन्दा नराम्रोसँग गीतको दृष्यांकन गरिएको छ । यस्ता गीतले समाजमा तिजको महत्व दिन कसरी खोजेको छ ? समाजलाई यस्ता गीतले कस्तो सन्देश दिनखोजेको छ ? समाजमा सयौं सामाजिक समस्याहरु त छन् तर केही नगन्य विकृतिलाई तिजको संस्कृतिसँग घोलेर धमिल्याउनु कति उचित छ ? यस्ता गीतले समाजको मानसिकतामा कस्तो प्रभाव पर्ला ? अझ प्रितिआलेको गीतको लय हावामा उडेको छ । ज्योति मगरका गीत कुरै नगरौं । कतिपय गीतहरु मजाकको विषय बनेको पाइन्छ । संस्कृति जोगाउन गाइने गीत संस्कृतिलाई नै औंला उठाएको जस्तो लाग्छ । कुनै गीत बजारमा आउनसाथ विवादित बन्छन् । यि सब तिजमा नै किन ? अब संस्कृतिविद्को बहसको विषय बनोस । तिज गीतका शब्द लेख्नुभन्दा अगाडि महिलाको महानता र तिजको आध्यात्मिक, सामाजिक र सांस्कृतिक महत्वको विषयमा समयसँग महिलामा आएको सकारात्मक परिवर्तनका बारेमा, महिलाले निभाउन सक्ने दुवै घरको जिम्मेवारीको बारेमा, परतन्त्र स्वीकार गर्दै खुसीहुन सक्ने अद्भूतशक्तिको बारेमा अध्ययन गरियोस, चाडपर्व सद्भाव, मेलमिलाप र खुसीका लागि मनाइन्छ । आगामी दिनमा आफ्नै सांस्कृतिक, आध्यात्मिक महत्व बोकेको महिलाको महान पर्व तिज पनि यसरी मात्र मनाइयोस् ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update