Shittalpati
चुरे क्षेत्रको संरक्षण गरौं

पाल्पा जिल्लामा रहेका खानी तथा चुनढुङ्गा खानीले वातावरणीय रुपमा पार्ने प्रभावका विषयमा वातावरणीय मूल्याङ्कन गरे/नगरेको विषयमा ध्यान जान सकेको छैन । नदी र त्यहाँका तटबाट बालुवा निकाल्ने र त्यसको अवैध रुपमा विक्री वितरण गर्ने फर्म र व्यक्तिहरुका विषयमा पनि स्थानीय र प्रदेश तथा संघीय सरकार बेखवर भएका छन् । सिजी कम्पनी, होग्सी सिमेन्ट लगायातका ठूला विभिन्न कम्पनीहरुले पाल्पा जिल्लाका पूर्व र पश्चिममा गरेर दुई दर्जन कम्पनीहरुले खानीहरु उल्लखनन् गरिरहेका छन् । यसको दीर्घकालीन प्रभावका विषयमा कसैले पनि वास्ता गरेका छैनन् ।

यसबाट प्राप्त हुने रोयल्टी र आम्दानी भने अत्यन्तै न्यून रहेका पाइन्छ । यहाँ चुहावट भएका छन् ? यसको नाप गर्ने जाँच र वातावरणीय प्रभाव नपरेको हेर्ने गर्ने निकाय कुन हो ? त्यो पनि सरोकारवाला, जिल्ला र प्रदेशका निकायहरुलाई थाहा छैन । कानुनी रुपमा प्रक्रिया पूरा गरे पनि त्यसका व्यवहारिक पाटा र मानवीय, जैविक हिसावले वातावरणमा परेको प्रभावलाई वास्तै गरिएको छैन । वातावरणको विनासबाट मानवीय क्षति हुनु आफैमा अत्यन्तैै दुखद विषय हो ।

चुरे दोहनबाट परेको वातावरणीय असरका विषयमा बोल्नेहरु पनि चुप भएका छन् । विकासका नाममा विनास भईरहेको छ । त्यसकारण पनि वातावरण विनास रोक्ने क्रममा हामी सबैको महत्वपूर्ण दायित्व हुनुपर्नेमा त्यो कम भयो कि भन्ने चिन्ता पनि व्यापक छ । महाभारत श्रृंखलाका चुरे क्षेत्रको विनासले गर्दा तराईका फाँटहरु बगरमा परिणत भएका छन् । पहाडी क्षेत्रमा भूक्षय, नदी अनियन्त्रित हुने खतरा बढेर गएका छन् । यस्ता समस्याहरुप्रति सबैको चासो बढ्नुपर्ने हुन्छ । त्यसकारण यी र यस्ता समस्यालाई समयमै नियन्त्रण गर्न सकेनौ भने, हामीले नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने हाम्रो प्रकृति उर्वर भन्दा पनि मरुभूमिमयी हुने खतरा कायमै रहन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update