Shittalpati
आत्मकथा : मेरी प्यारी आमा !

लालकाजी शाक्य
आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ । आमा, आमै कति प्यारो शब्द । यहि गएको आषाढ २० गते मृत्युवरण गर्नु भएकी मेरो प्यारी आमाको केहि छोटो चिनारी आत्मकथा लेख्न गईरहेछु । मेरी आमा वि.स. १९८१ साल असार २२ गते नारायण टोलमा बसोबास गर्दै आउनु भएको सानो ह्खाःभन्ने पद्यराज शाक्य आमा चित्र कुमारी शाक्यको कोखबाट चौथो पुत्रीको रुपमा जन्मिनु भएको थियो । सानै उमेरदेखि बुद्ध धर्मप्रति आस्था राख्नु हुने मेरो आमा सुख सयलमा राम्रो पालन, पोषणमा हुर्किनु भएको थियो ।

उहाँ, पढ्न, लेख्न, त्यति साह्रो पाउनु भएन । त्यो बेला न कुनै स्कूल थिए, न पाठशाला थिए । त्यहि कारणले गर्दा पनि यस्तो भएको हो । तर घरायसी काममा भने निपुण हुनुहुन्थ्यो । सादा कपडामा फुलवुट्टा हान्ने, स्वीटर, इजार, पञ्जा बुन्ने, छवालीबाट अनेकौ डिजाइनका ढक्कीहरु बनाउने, यहाँसम्म कि कही कतै कसैबाट नसिके पनि लुगा सिउने काम, धुप बत्ती काट्ने, थुंगा बनाउने, रक्सी बनाउने, रोटीहरु बनाउने गर्नु हुन्थ्यो । उहाँ विभिन्न किसिमको रोटी बनाउन पारंगत हुनुहुन्थ्यो । दालमोठ, भुजेरी तथा विभिन्न प्रकारका अचार, छोप बनाउन, सिद्धहस्त हुनुहुन्थ्यो । यी सम्पूर्ण काम सानै उमेर देखि घरमा सिक्नु भएको हो । आफ्नो फूपू करुणा अनागरिकाबाट बुद्व सम्बन्धी धेरै ज्ञान प्राप्त गरेपछि उहाँले अनागरिका हुने विवाह हुनुभन्दा पहिला नै यस प्रति सोच बनाई सक्नु भएको थियो । तानसेन टक्सारमा जन्मिनु भएको मेरो पिता, रणबहादुर शाक्यसँग, उमेरमा १५ वर्ष भन्दा जेठोसँग बाबु, आमाले पठाइदिए । सुख सयलमा हुर्किनु भएकी मेरो आमा मोहन कुमारी शाक्यको दुःखको सुरुवात त्यहीबाट भयोे । यस्तो पारिवारिक कठिन समयमा साझँ के खाउ, बिहान के खाउ जस्तो बेलामा पनि कुनै दुःख नमानी आफ्नो परिवारजनलाई राम्रोसँग हेरचाह गर्नुहुन्थ्यो । आफू नखाईकन पनि, छोराछोरीलाई जेनतेन खुवाउनु हुन्थ्यो । बुबा मेग्जीन अदालतमा वैदारको काम हुन्थ्यो । महिनाको साढे चार रुपैयाँ तलबमा, बेलाबेला, प्यूठान, सल्यान, दाङ, देउखुरी आदि ठाँउमा काजमा खटिएर जानुपथ्र्यो । त्यहि साढे चार रुपैयाँको तलबमा अहिले जस्तो सुविधा थिएनन् । पैदलै जानुपर्ने त्यो पनि बिना भत्ता सुविधामा त्यही साढे चार रुपैयाँबाट केहि बचत गरेर घर खर्च चलाउनुहुन्थ्यो । दशै, तिहार अन्य चाडपर्व सबै त्यसैबाट चलाउनु पथ्र्यो । कहिले पुग्थ्यो, कहिले अपुग हुन्थ्यो । यस्तो अवस्थामा पनि आमा, बुवा कसैसँग ऋण सापट लिएर छोरा, छोरी पालेको भन्ने थाहा छैन । बरु आफै कष्ट सहेर, धुप बाटेर बेच्न पठाउनुहुन्थ्यो । म र दाई हिराबहादुर (यशपाल शाक्य) दुवै दाजुभाई मिलेर बजार, बजार चाहेरेर धुप बच्ने गथ्र्यौ । कहिले नविकेर खाली हात फर्कन पथ्र्यो । उ बेला धुपको मूल्य एक मोहरको तिन मूठामा विक्थ्यो । प्रत्येक मुठामा सय वटा हुन्थ्यो । धुप नविकेर, फर्किदा भोकले आत्तिन्थ्यौ । तर के गर्ने घरमा अन्नको दाना हुदैनथ्यो । त्यहि धुप बेचेर चामल किनेर परिवार पाल्नु पथ्र्यो । भोकै रुदै घर फर्केर आमा भोक लाग्यो भन्दा मेरो आमाले फकाई, फकाई स्कूल पठाउनु हुन्थ्यो । बाबु अहिले स्कूल जाँउ हाफ छुट्टीमा आँउदा तिमीलाई मिठो खाना खुवाउछु है भन्दै फकाउनुहुन्थो । यसरी हामी फक्किन्थ्यौ पनि ।

हाफछुट्टीमा घरमा आउँदा गहुँ उसिनेर त्यस्मा चिनी हालेर दिनुहुनुहुन्थ्यो । त्यसैलाई मिठो मानेर खान्थौ । यो हाम्रो परिवारको मजबुरी पनि थियो । त्यो बेला चियामा चमेना भन्ने चलन नै थिएन । खाली पेट एका विहानै उठेर बजार डुलेर धुप र रक्सी बेच्न जानुपथ्र्यो । विके भने चामलदाल किनेर ल्याई भात खाने हो । बिकेन भने तातोपानीमा नुन हालेर पिएर सुत्ने हो । त्यस्तो अवस्थामा आफू अनपढ भएपनि छोरा छोरीलाई पढ्नु पर्छ भनेर, भोकै भएपनि सकूल पठाउनु हुन्थ्यो । आफू बुद्ध धर्म माने पनि हिन्हुधर्मलाई पनि उत्तिकै उत्साह पूर्वक मान्नुपर्ने मान्यता आमा राख्नु हुन्थ्यो । त्यस्तो कुनै चाडपर्व छैन् होला । आमाले नमनाउने हरेक चाडपर्व आफूसक्दो मनाउनु हुन्थ्यो । खास गरेर दशै, तिहार, योमरीपुन्ही, माघे सक्रान्ती, श्रावण सक्रान्ती आदि । विशेष गरी लक्ष्मीपूजा धुमधाम साथ मनाईन्थ्यो । लक्ष्मी पूजाको दिन लक्ष्मी मूर्तिलाई स्नान गरी राती, आफू सक्दो मिठाई, रोटी, पूजा कोठा भरी राखेर पूजा गर्नुहुन्थ्यो । पछि उहाँको मन परिवर्तन भयो । जति लक्ष्मीको पूजा आरधना गरेपनि कहिले पनि आर्थिक स्थिति राम्रो भएन । जहिले पनि एकछाक खान धौ–धौ परेपछि विस्तारै पूजामा त्यति ध्यान दिन छोडनु भयो । हाम्रो घरको लक्ष्मी पूजा हेर्ने लायकको हुन्थ्यो । सम्पूर्ण परिवार एकैठाँउ जम्मा भएर मिठाई, रोटीको परिकार हेर्दै, लोभिदै पूजा गरिन्थ्यो । ति सबै अहिले सपना जस्तै भए । दशै, तिहार आउँदा नयाँ कपडा सिलाउनु पर्छ भन्ने मान्यता अनुसार बुबाले कपडा किनेर ल्याउनुहुन्थ्यो । सबै भन्दा सस्तो कटपिस टुक्रा राम्रो महँगो कपडा किन्ने क्षमता नै थिएन । ती कपडा आफै काटछाट गरेर हातैले सिलाउनु हुन्थ्यो । आमाले सिलाएको कपडा सहि हुन्थे । कहि केहि कमजोर देखिन्न, चिटीक्कको, मानौ दर्जिले मेसिनमा सिलाए जस्तो फिट हुन्थ्यो । वर्षको एक पल्ट मात्र राम्रो लगाइन्थ्यो । वर्षभरिमा फुलपातीको दिनमा १ धार्नि मासु किनेर बुबाले बच्चा बच्चीलाई भरपेट खुवाउनु हुन्थ्यो । अरुबेला हात लागि शून्य । छिमेकीहरु आमाको सिप, व्यवहार देखेर सबै चकित पर्थे । सबले घरमा ‘धमा, धोमा, भोत’ भनेर बोलाउने गर्थे । नेवारीमा ‘धमा’भनेको ठूली आमा ‘भोत’ भनेको भाउजू हो । सधै जसो दिउसो पख टोल छिमेकी जम्मा गरेर कपडामा फूल बुट्टा भर्ने, छवालीको धक्की, चकटी, गुन्द्री बुन्ने गर्नुहुन्थ्यो । आफूले सिकेको सिप अरुलाई पनि दुःख नमानी खुशी –खुशी सिकाउनु हुन्थ्यो । खाली समय कुनै न कुनै काम गरी रहने मात्र नभई भजन पनि मिठो स्वरमा गाउनु हुन्थ्यो । मलाई जहाँ सम्म याद छ ।

राजा महेन्द्रको २०१५ सालमा पाल्पा सवारी हुँदा ५/६ महिनाको बच्चा (बहिनी) काखमा बोकी महाचैत्य विहारमा महिला समूहले गित गाएर स्वागत गरेको हिजो जस्तै लाग्छ । बच्चा काखमा बोकी त्यति मिठो स्वरमा स्वागतगान गाउँदा राजा महेन्द्रले निकै नै चाख मानेर स्वागतगान सुनेपछी मेरो बहिनीलाई सुम सुमाएको कहिले नर्विसिने घटना भयो । बुद्धप्रति धेरै नै आस्था राखी प्रत्येक बैशाखपूर्णिमा भन्दा केहि दिन अगाडि लावाकको जाली माला बुन्न फुर्सदै हुन्न । हामीलाई बजारमा पहेलो कागजको कपडा नयाँथानमा बेरेर आउथ्यो खोज्न पठाउथे ।हामी बच्चाहरु खुशी हुँदै त्यस्तो कागज खोजेर ल्याई आमाको अगाडि राखी दिन्थ्यौ । त्यो कागजबाट विभिन्न प्रकारका फूल वुट्टा बनाएर लावाको जालीमा उनेर हेर्न लायक बनाउनु हुन्थ्यो । त्यो जाली माला, बुद्ध जात्रामा रथको पछाडी राख्ने गरिन्छ । आमालाई फुर्सदै नहुने जात्राको महिना भर विहार गई दान गर्ने शिलपालन गर्ने व्रत बस्ने (उपोसय) गर्नुहुन्थ्यो । मानौ बुद्धको होइन आफ्नै घरको कुनै उत्सव जस्तै हुन्थ्यो । त्यो बेला कपडा धुन पानी प्रशस्त नहुँदा, होलाङ्गदी पुग्नु पर्‍थ्यो । काखमा बच्चा पिठ्यूमा कपडा बोकेर साथीहरुसँग होलाङ्गदी गएर कपडा बोकेर ठाडै उकालो चढेर घर फर्किनु, भोक लाग्दा भोकै बस्नु रहर नभर बाध्यता थियो । होलाङ्गदीबाट पानी बोकेर खानुपर्ने, रक्सी बनाँउन पनि पानी होला·दीबाट नै बोकेर ल्याउनुपथ्यो । रक्सी बनाउँदै गर्दा पुराना कापीको थुगां बनाउने एकैसाथ गर्नुहुन्थ्यो । रक्सी बनाउँदा थुंगा मात्र नभई भात पकाउने, कपडा धुने, धुप बाट्ने, बाति काट्ने काम सँगसँगै गर्नुहुन्थ्यो । उहाँले हमेशा अरुलाई भन्नुहुन्थ्यो ‘खाली दिमाग शैतानको घर’ त्यसै बस्नु भन्दा केहि न केहि गर्नुपर्छ भन्ने धारणा उहाँले राख्नुहुन्थ्यो ।

काम मात्र हैन पढ्नु पनि पर्छ भनेर एक जना शिक्षिकालाई बेतलवी रुपमा बोलाएर साथी, छरकिमेकीलाई घरमै बोलाएर क, ख, रा सिक्नु भयो । जुन बेला राणाले थाहा पाए जेलमा राख्ने काम हुन्थ्यो । त्यस्तो बेलामा पनि हिम्मत गरेर लेखपढ गर्न सिक्नु भयो । त्यहि सिकाई फुर्सदको बेला कहि न कहि लेख्ने, पढ्ने गर्नु हुन्थ्यो । विशेष गरेर बुद्ध सम्बन्धी किताब धेरै नै अध्ययन गर्नु भयो । बुद्ध सम्बन्धी कुनै पुस्तक निस्क्यो भने पहिला भिक्षुहरुले (निनिलाई समर्पित) दिनु हुन्थ्यो । निनि यस प्रकार भन्ने गरिन्थ्यो कि भिक्षु शाक्य नन्द, सुवोनन्दको नाता पर्नु हुन्थ्यो । उहाँहरुले निनि भनेपछि सबै भिक्षूले पनि निनि भनेर सम्बोधन गर्नु हुन्थ्यो । बुद्ध सम्बन्धी धेरै कुराको ज्ञान श्लोक, परित्राण सबै कण्ठस्थ थियो । प्रत्येक दिन राति सुत्नु भन्दा पहिला परित्राण पाठ गर्नुहुन्थ्यो । जो जीवनको अन्तिम घडिसम्म नियमित चलिरÞयो । ध्यानमा पनि उत्तिकै एकाग्र भएर लाग्नु भएको थियो । विपस्चना ध्यान गुरुका संगतमा जहाँ–जहाँ ध्यान सिविर लाग्थ्यो । आमा सधै त्यस ठाउँमा जसरी पनि पुग्ने गर्नु हुन्थ्यो । सिविर नभए पनि विहारमा आउने उपासकसँगै बसेर ध्यान गर्दै सिकाउदै गर्ने गर्नुहुन्थ्यो । घरैमा पनि काम केही भएन भने घण्टौसम्म ध्यानमा लिन हुने गर्नुहुन्थो मेरो प्यारी आमा ! २०१८ माघमा बुवाको दिवंगतपछि परिवारमा झन् बज्रपात पर्‍यो । दाई बि.एको परीक्षा दिन काठमाडौं जानु भएको थियो । म १२ वर्षको थिए । भाइबहिनीहरु सानै थिए । त्यस्तो अवस्थामा लाशलाई रानीघाट लैजानुपथ्यो । त्यो पनि खालि खुट्टा । मैले कसरी यी सबै व्यवस्था गरेको हुम्ला अहिले सोच्दा छक्कै पर्छु ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update