Shittalpati
चाडपर्व फेरी मानौंला

देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ । साउन महिनादेखि नै नेपाली समाजमा परम्परागत जात्रा र चाडपर्वहरु भित्रिएका छन् । नेपालीहरु यतिबेला कोरोना महामारीसँग लड्नु परेको छ भने अर्को तर्फ परम्परागत चाडपर्वहरु पनि धान्नुपर्ने चुनौतिरहेको छ । चाडपर्वहरु मनाउने नाममा देशका धेरै मन्दिरहरुमा भक्तजनको भीड बढ्न थालेको छ । जात्रा र मेला चलाउनुपर्ने भएकाले समुदायमा पनि मानिसको चहलपहल बढिरहेको छ । चाडपर्वको चटारोसँगै कोभिड–१९ को संक्रमण जोखिम पनि बढ्दो छ । यतिखेरको आवश्यकता पर्व र मेलाको जगेर्ना पनि हुने र संक्रमण पनि नफैलिने गरी गतिविधि सञ्चालन गर्नु हो । यस्तो बेलामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको मात्रै मुख ताक्नुभन्दा जनता आफैँ सचेत हुनुपर्ने बेला आएको छ । सबैमा आफू सुरक्षित भएमात्रै सबै सुरक्षित रहन्छन् भन्ने भावना जागृत हुन जरुरी छ । कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेकाले चाडपर्व भन्दा पनि संक्रमणबाट जोगिनका लागि उच्च सर्तकता अपनाउनु आवश्यक छ ।

जात्रा, मेला तथा चाडपर्व नेपाली समाजका पहिचान हुन् । फरक जाति र भाषा भएजस्तै संस्कार पनि भिन्न–भिन्न छन् । यी संस्कार हाम्रा अमूल्य निधि हुन् । संस्कार टिकाइराख्न सक्यौं भने मात्रै आफ्नो पहिचानलाई जीवन्तता दिन सक्छौं । तर संस्कारलाई जिवन्त राख्ने नाममा वर्तमान परिस्थितिमा जथाभावी रुपमा भीड गर्ने, मास्क नलगाउने, सामाजिक दुरी कायम नराख्ने हो भने स्वास्थ्य नै झन जोखिममा पर्ने खतरा रहने छ । नेपाली समाजमा महत्वपूर्ण मानिने हरितालिका तिज, दशैँ, तिहार जस्ता पर्वहरु नजिकिदै छन् । यी सबै पर्वमा आउजाउ धेरै हुन्छ । साथै धार्मिक स्थलहरूमा पनि भीड हुन्छ । हुन त चाडपर्व नमानौं भन्न खोजिएको होइन । तर पूजापाठका नाममा घरबाट टाढाको मन्दिर जानुपर्छ र त्यहाँ गएर फूल, अक्षता चढाए मात्रै पुण्य प्राप्ति हुन्छ भन्ने मान्यतमा पनि पुनःविचार गर्नुपर्ने बेला आएको छ । सास रहे आश रहन्छ भने जस्तै फेरी पनि यस्ता धार्मिक गतिविधि चलाउन ज्यानको सुरक्षा महत्वपूर्ण हुन्छ भन्ने भावना सबैमा जागृत हुन आवश्यक छ । तसर्थ वर्तमान परिस्थितिलाई आँकलन गरी स्वास्थ्य सुरक्षालाई प्राथमितामा राखी चाडपर्व मनाउने विषयमा ध्यान दिइनु पर्दछ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update