Shittalpati
बालबालिकाप्रति चिन्तित बनौं

कोरोना भाइरस कोभिड-१९ का कारण शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ । पाँच महिनादेखि देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौ बालबालिकाहरु विद्यालय जान पाइरहेका छैनन् । सरकारले केही समयअघि अनलाइन कक्षाबाट विद्यालयहरुलाई सामान्य शिक्षा दिन भने पनि त्यो विषय सबै ठाउँहरुमा लागु हुन सकिरहेको छैन । केही समय त सरोकारवालाहरु विशेषगरी प्याब्सन, एनप्याब्सन लगायतका शैक्षिक संघसंस्थाहरुले सरकारको सोही निर्देशनलाई पालना गर्दै अनलाइन कक्षाहरु सञ्चालन गरे । कोरोना भाइरसले पुर्‍याएको मनोवैज्ञानिक असरलाई कम गर्न अनलाइन कक्षाले विद्यार्थीको मन मस्तिष्कलाई कतिको सहजीकरण गर्‍यो त्यो त आगामी दिनमा गरिने अनुसन्धानहरुले सत्यतथ्य बाहिर ल्याउलान् नै । तर पछिल्लो समय अनलाइन कक्षाहरु प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन् ।

निजी विद्यालयहरुले देशको चौतर्फी हितका खातिर शिक्षा क्षेत्रमा पुर्‍याएको अहम् भूमिकालाई कोही कसैले नकार्न सक्दैन । तर वर्तमान परिस्थतीमा निजी विद्यालयहरुले बालबालिकाहरुलाई आवश्यक परामर्श दिने वा छलफल गर्ने कुनै काम भएनन् । यतिसम्म कि निजी विद्यालय सञ्चालकहरु आफूआफूमै पनि एक ढिक्का भएर विद्यार्थीमैत्री बन्नुपर्ने वर्तमान आवश्यकतालाई उजागर गर्न नसकेको महसुस आम अभिभावकहरुले गरेका छन् । अहिले चाहिएको कुरा के हो, बालबालिकाहरुलाई अहिले दिनुपर्ने विषय के हो त्यसतर्फ केन्द्रित हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैनन् । बालबालिकाको भविष्यप्रति विद्यालयमात्र होइन आमअभिभावक पनि अझ बढी जिम्मेवार बन्नु पर्दछ । अभिभावकले अरुबेला पनि आफ्ना छोराछोरीको खुशीका लागि धेरै त्याग गरेका हुन्छन् । पाँच–पाँच महिना आफ्ना नानीहरुले विद्यालयको मुहार हेर्न नपाउनु कतिको दुःखदायी कुरा हो भन्ने अभिभावकले महशुस गर्नुपर्छ । विद्यालय र सरकारको मात्र मुख ताक्ने हैन अब अभिभावकले घरमै बालबालिकाहरुलाई व्यवहारिक विषयमा अभ्यास वा अध्ययन गराउनुपर्दछ । बालबालिकाहरु भविष्यका कणदार हुन । उनीहरुलाई कस्तो बनाउने भन्ने विषय अहिले नै निक्यौल गर्न आवश्यक छ । त्यसैले आमअभिभावक, विद्यालय सञ्चालक, सरोकारवाला सबैले आफ्नो भन्दा पनि बालबालिकाको भविष्यप्रति चिन्तित बन्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update