Shittalpati
सामाजिक सञ्जाल र प्रयोग

सूचना प्रविधिको प्रयोगबाट सम्पर्क र सम्बन्ध विस्तारको सजिलो माध्यम बनेको सामाजिक सञ्जाल यति बेला लोप्रिय बन्दै गएको छ । कमाउ धन्दा गुमाउ धन्दा दुवै प्रकारको खेती भइरहेको छ त्यति मात्र हैन साथी बनाउने र शत्रु कमाउने कामले पनि उत्तिकै स्थान पाएको छ । साथै कसैप्रति लक्षित गरी ब्यङ्ग्य र आक्रोस पोख्ने र केही सद्भाव राख्ने काम सञ्जालको प्रयोगबाट हुँदै आएको छ । सूचना प्रविधिको प्रयोग हुनु सकारात्मक हो ।

तर प्रयोगसँगै दुरुपयोग गरिनु चाँही गलत हो । हिजोआज मानिसहरु कार्यालय होस् या चिया पसल, घरमा होस् या विद्यालयमा जुनसुकै ठाउँ र परिवेशमा घोत्लिदै उदोमुन्टो लगाएर एकोहोरो मोबाइलमा फेसबुक हेर्ने नशाले मज्जाले गाजेको छ । यो एक हिसावले सूचना जानकारी पाउने हुँदा राम्रै मानिन्छ भने अर्को तर्फ कार्यालय, विद्यालय समयमा काममै छोडी अनावश्यक फेसबुकमा झुल्ने बानी भने गलत हो । जसले समयको बर्वादसँगै जीवनमा ठूलो धक्का पुग्न सक्छ । सामाजिक सञ्जाल यति बेला फोहोर, क्रुर, हिंस्रक बनेको छ चाहे राजनीतिक विषयमा होस् सामाजिक अथवा अन्य विभिन्न विषयमा सामाजिक सञ्जाल विवाद गर्ने एउटा प्लेटफर्म बनेको छ ।

साथै केही व्यक्तिहरु नै अनैतिक अश्लील र विवास्पद शब्दको चयन गरी नेपाली समाजमा पाच्य नहुने भ्रामक कुरा गर्दै आफ्नो गोप्यता भङ्ग गर्दै आफ्नै बेईजत गरेका छन् । सामाजिक सञ्जालमा कुनै मापदण्ड नहुँदा यस्तो समस्या उत्पन्न भएको हो । आमरूपमा प्रयोग हुँदै आएका फेसबुक, इमो, भाइबर, ह्वाट्सअप जस्ता सामाजिक सञ्जालको प्रयोग सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् ।

समाजिक सञ्जालको प्रयोग कसरी लिने भन्ने विषय सम्बन्धित व्यक्तिमा निहित रहन्छ । सामाजिक सञ्जालले विश्वका कुनै पनि कुनामा रहेका मानव जातिलाई सञ्चार र सम्पर्कको एउटै मालामा उनिरहेको छ । विश्व मानव जातिका रूपमा यसलाई एकताबद्ध गरिरहेको छ । यो सामाजिक सञ्जालको सकारात्मक र सिर्जनशील पक्ष हो । तर, योसँगै विश्वमा रहेको मानव विभेद, आर्थिक असमानता, अज्ञानता, अभाव र निर्दोषितालाई नाजायज फाइदा लिएर मानव तस्करीका माध्यमका रूपमा प्रयोगमा ल्याउनु यसको नकारात्मक पक्ष हो । यसर्थ समाजिक सञ्जालको प्रयोग सहि रुपमा गर्न सके जीवन सार्थक बनाउन सकिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update