Shittalpati
प्रदेश सभा बैंठकमा शोक प्रस्ताव पारित

खस्यौली, प्रदेश पाँचको प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आइतबार स्थगन भएको छ । प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले शोक प्रस्ताव प्रस्तुत गर्दै अनुभवी राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपूरणीय क्षति भएको उल्लेख गरे ।

प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित नेता पोखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलन समेतमा क्षति भएको उल्लेख गर्दै सभामा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

विसं २०१४ मा नेपाली काँग्रेसमा आवद्ध भई २०१७ देखि विसं २०२१ सम्म कारागार जीवन व्यतित गरेका र भूमिगत राजनीतिक जीवनसमेतको अनुभव हासिल गरेका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशील रहेको बताइएको छ । नेता पोखरेल प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका थिए । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण समेत गरिएको थियो । –रासस

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update